२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


योग्य शिक्षकहरु पाउन मुस्किल : अध्यक्ष रेग्मी


312
Shares

काठमाडौं । शिक्षा विद्हरुले नेपालको शिक्षा प्रणालीमा सुधार हुन नसक्दा शिक्षण पेशामा आकर्षण घट्दै गएको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयाजित शिक्षा नीति संवधाद कार्यक्रममा बोल्दै शिक्षाविद्हरुले यस्तो बताएका हुन् । उनीहरुले पछिल्लो समय नेपालमा विषयगत शिक्षकहरुको कमी भइरहेको र शिक्षकहरुमा पनि उपयुक्त योग्यता भएको नपाइएको बताए । विज्ञहरुले आवश्यक शिक्षक माग समेत पूर्ति हुन नसकेको बताए ।

कार्यक्रममा बोल्दै शिक्षा सेवा आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले मधेश प्रदेशका जिल्लामा शिक्षक मागे जति पनि उम्मेदवार नपाएको बताउनुभयो । उहाँले खोजेजति योग्य शिक्षकहरु पाउन नसकेको भन्दै सरकारले यसप्रति गम्भीर बन्नुपर्ने बताउनुभयो । उहाँले सामान्य परीक्षाबाट उत्तिर्ण भएका शिक्षकहरु पनि विषयगत परीक्षामा फेल भएकाले नेपालको शिक्षा प्रणालीलाई वैज्ञानिक र नयाँ किसिमबाट विकसित गर्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका रेक्टर शिवलाल भुसालले विद्यालय स्तरको शिक्षाले तत्काललाई मात्रै नभइ एउटा युगको भविष्य बोक्ने भएकाले विद्यालय स्तरमा शिक्षा प्रणालीको सुधार अति आवश्यक भइसकेको बताउनुभयो । उहाँले विद्यालय स्तरको शिक्षालाई आवश्यक सुधार र पमिार्जन गरी योग्यता पुगेका शिक्षकहरुबाट गुणस्तरीय शिक्षा दिन आवश्यक रहेको बताउनुभयो । विद्यालय स्तरमा गुणस्तरयुक्त शिक्षा दिन नसके एउटा युग नै नष्ट हुने बताउनुभयो । रेक्टर भुसालले शिक्षण व्यवसायमा आकर्षण घट्दै गइरहेको भन्दै सबैभन्दा पहिला शिक्षाको गुणस्तर बढाउन सक्नुपर्ने र देशका हरेक क्षेत्रमा शिक्षाको गुणस्तरलाई गम्भीर रुपमा लिन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा काठमाडौं विश्वविद्यालयका डिन बालचन्द्र लुइँटेलले नेपालमा शिक्षाको गुणस्तरलाई बढाउन शिक्षकहरुलाई प्रशिक्षण दिन आवश्यक भएको बताउनुभयो । उहाँले विकासिल देशहरुमा शिक्षकहरुलाई योग्य बनाउनका लागि सरकारले विभिन्न शैक्षिक तालिमहरु दिने गरेको तर नेपालमा भने आवश्यक तालिमहरु हुन नसकेको गुनासो गर्नुभयो । उहाँले तालिम दिँदा पनि विषयगत वा सामान्य तालिमका बारेमा सरकारले चासो राख्न आवश्यक रहेको बताउनुभयो । उहाँले वर्तमान अवस्थामा शिक्षकलाई विषयवस्तु, विज्ञानसम्मत कुराहरुको बारेमा अपडेट गराउन आवश्यक भइसकेको बताउनुभयो । उहाँले नेपालको शिक्षामा पढाइलेखाइमा पनि समस्या रहेको बताउनुभयो । उहाँले शिक्षाका विषयवस्तु र पाठ्यक्रमसँगै पढाइलेखाइको तौरतरिकाहरुमा पनि सुधार गर्न जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका डिन चित्रबहादुर बुढाथोकीले शिक्षामा सुधार गर्नका लागि सरकारले तालिम दिने संस्था छुट्टै बनाउन नसकेको गुनासो गर्नुभयो । उहाँले सरकारले कस्तो शिक्षक तयार पार्ने भन्ने नीति नहुँदा र मापदण्ड नबनाउँदा शिक्षकहरुमा गुणस्तर हुन नसकेको बताउनुभयो । उहाँले अन्य मुलुकमा विश्वविद्यालयलाई कस्तो शिक्षक बनाउने र कस्तो तालिम दिने ? तालिम दिँदा कस्तो शिक्षकलाई दिने भन्ने बारेमा सोच्नुपर्ने बताउनुभयो । उहाँले सरकार शिक्षक बनाउने कुरामा स्पष्ट नीतिका साथ अघि बढ्न नसकेको पनि बताउनुभयो । उहाँले नेपालमा अगाडि गएर बोर्डमा अक्षर लेख्ने मान्छेलाई शिक्षक भनेर बुझ्नु नै गलत रहेको बताउनु भयो ।

कार्यक्रममा शिक्षाविद् मनप्रसाद वाग्लेले विश्वविद्यालयहरुले गर्ने कामहरुमा समेत सरकारलाई दोष दिएर उम्किने प्रवृत्ति त्याग्नुपर्ने बताउनुभयो । उहाँले विश्वविद्यालयका पदाधिकारीहरुले नै गर्नसक्ने कामलाई नगरेर अरुको टाउकोमा दोष थुपार्ने काम भएसम्म शिक्षाको विकास हुन नसक्ने बताउनुभयो । उहाँले शिक्षा सेवा आयोगले नै लाइसेन्स दिएका शिक्षकहरु विषयगत परीक्षामा अनुत्तिर्ण भएका कारण अहिलेको समस्या आइरहेको भन्दै आयोगले लाइसेन्स दिने बेलामा ध्यान किन नदिएको भन्दै प्रश्न गर्नुभयो । उहाँले नीति अनुसन्धान प्रतिष्ठान अपडेट हुन नसकेको गुनासो गर्नुभयो । उहाँले विश्वमा शिक्षकको अभाव भइरहेको भन्दै बाहिरी मुुलुकमा शिक्षक आह्वान भइरहेकाले आकर्षण दिएर नेपालले पनि बाहिरी मुलुकका शिक्षकहरु नेपालमा भित्र्याउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका रजिष्टार माधव अधिकारीले शिक्षकहरुमा आवश्यक तलवमान नहुनु, शिक्षण पेशालाई गाउँ र समाजले हेर्ने दृष्टिकोणमा सकारात्मक नदेखिनुले शिक्षण पेशामा आकर्षण घटेको बताउनुभयो । उहाँले युवा पुस्तामा शिक्षण पेशामा अकार्षण नहुनु, शिक्षामा राजनीति हुनु, नेपालमा शिक्षाको सही पहिचान हनु नसक्दा पनि शिक्षा क्षेत्रमा समस्या बढ्दै गइरहेको बताउनुभयो । उहाँले संस्कृत गुरुकुलहरुको नतिजा समयमा हुन नसक्नु र पाठ्यपुस्तकहरु नपाइनुले संस्कृत शिक्षामा कमी भइरहेको बताउनुभयो ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले नेपालमा शिक्षक नभएको, भएका शिक्षकहरुमा गुणस्तर नभएको र गुणस्तर शिक्षकहरुलाई आवश्यक पहिचान र संवद्र्धन हुन नसक्ने समस्या प्रचुर रहेको बताउनुभयो । उहाँले शिक्षा क्षेत्रलाई गुणस्तरयुक्त बनाएर लैजानका लागि शिक्षा नीतिको सुधार आवश्यक भएपनि शिक्षा नीति सुधारका लागि मन्त्रालय तयार रहेको बताउनुभयो । सरकारले शिक्षा नीति ल्याएको र अब सरकारको शिक्षा नीतिको कार्यान्वयन गरेर अघि बढ्न आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका सदस्यसचिव शंकरप्रसाद भण्डारीले सरकारले बनाएका नीति कार्यान्वयनको चुनौति रहेकाले सबैले कार्यान्वयनको पक्षमा अघि बढ्न आवश्यक रहेको बताउनुभयो । उहाँले उच्च शिक्षालाई कसरी गुणस्तर बनाउने भन्ने सन्दर्भमा देशको करिकुलम लगायतका विषयवस्तुमा ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले सम्बन्धित निकायहरु शिक्षा क्षेत्रमा परिमार्जन र विषयवस्तुहरुलाई नयाँ तरिकामा अघि बढाउन नसक्ने कमजोरी रहेको बताउनुभयो । उहाँले नेपालमा शिक्षकहरुले शिक्षण पेशालाई ज्ञान दिने कुरा भन्दा पनि जागिर खाने कुरामा जोड दिएकाले शैक्षिक गुणस्तरमा कमी आएको बताउनुभयो ।

उहाँले शिक्षकहरुले पनि आफू शिक्षक भइसकेपछि समाजलाई परिवर्तन गर्नसक्ने भुमिका निर्वाह गर्नुपर्छ भन्नेकुरालाई आफ्नो दायित्व सम्झेर अघि बढ्न सक्नुपर्ने बताउनु भयो । उहाँले शिक्षकहरुले समाजप्रतिको उत्तरदायित्व वहन नगरेसम्म शिक्षामा सुधार हुन नसक्ने बताउनुभयो ।

कार्यक्रममा सहभागी अन्य शिक्षाविद्हरुले शिक्षक बन्नको लागि न्यूनतम शैक्षिक ज्ञान हुन आवश्यक रहेको बताए । उनीहरुले शिक्षकहरु छनोट गर्ने प्रक्रिया प्राकृतिक नभएको गुनासो गरे । उनीहरुले अभिभावक र विद्यालयबीचको सम्बन्ध सत्तापक्ष र प्रतिपक्षको जस्तो देखिएकाले अभिभावक संघले यसमा आफ्नो भुमिकाप्रति उत्तरदायी बन्न आग्रह गरे ।