
काठमाडौं । स्पेनको क्लब कासेरेन्यो सिपीसँगको मैत्रिपूर्ण खेलमा काठमाडौं ११ पराजित भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार साँझ भएको खेलमा काठमाडौं ११ स्पेनको चौथो श्रेणीको लिग क्लब कासेरेन्यो सिपीलसँग २–१ ले पराजित भएको हो ।
यससँगै नेपाल भ्रमण गरेको कासेरेन्यो सिपीले दुई वटा मैत्रिपूर्ण खेल मध्ये दुबैमा सुखद नतिजा निकालेको छ । कासेरेन्योको जितमा अल्भारो क्लाउस र डेभिड ग्रान्डेले एक एक गोल गरे । ४१ औं मिनेटमा काठमाडौं ११ का गोलकिपर विशाल श्रेष्ठको गल्तीका फाइदा उठाउँदै अल्भारोले पहिलो हाफमा अग्रता दिलाएका थिए ।
राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान विराज महर्जनको कप्तानीमा रहेको काठमाडौं–११ विरुद्ध स्पेनिस टोलीले ८२ औं मिनेटमा डेभिडले गोल थप्दै अग्रता दोब्बर बनाएका थिए । त्यसको ४ मिनेटपछि जर्ज प्रिन्स कार्की एक गोल फर्काउँदै अन्तर घटाएपनि बाँकी समयमा थप गोल हुन सकेन र भ्रमणकारी टोलीले जित निकाल्न सक्यो ।
यसअघि कासेरेन्योले बुधबार पोखरा रंगशालामा गण्डकी–११ सँग खेलेको थियो । उक्त खेलमा कासेरेन्योले गण्डकी–११ माथि ३–० को जित निकाल्दै पहिलो मैत्रिपूर्ण खेलमा सुखद् नतिजा निकालेको थियो ।
नेपालमा दुई मैत्रीपूर्ण खेल खेल्नका स्पेनको क्लब नेपाल आएको हो । स्पेनस्थित नेपाली राजदुतावास, अखिल नेपाल फुटबल संघ, काठमाडौं जिल्ला फुटबल संघ र कास्की जिल्ला फुटबल संघको सहकार्यमा लुम्बिनी गार्डेन फाउण्डेसनले कासेरेन्योको नेपाल भ्रमण आयोजना गरेको हो ।
प्रतिक्रिया दिनुहोस्