
स्याङ्जा । स्याङ्जाकाे वालिङ नगरपालिमा व्यवस्थित सवारी पार्किङको समस्या समाधान हुने भएको छ ।
साेही नगरपालिकामा लामाे समयदेखि पार्किङकाे समस्या भएकाे थियाे । तर अब वालिङ बजारको शितलनगरमा आधुनिक बसपार्कको निर्माणसँगै सवारी पार्किङको समस्या समाधान हुने भएको हो । देशकै स्मार्ट सिटीको नामले परिचित वालिङमा सवारी साधन व्यवस्थित रुपमा पार्किङ गर्ने ठाउँको अभावले बजार क्षेत्र कुरूप तथा साघुरो बनेको थियो ।
सावारी पार्किङको समस्या समाधानको लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । नमूना बसपार्क निर्माणको लागि शहरी विकास कोषको ९० प्रतिशत तथा वालिङ नगरपालिकाको १० प्रतिशत लगानीमा डीपीआर तयार भएको वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले जानकारी दिनुभयाे ।
वालिङमा बसपार्क नहुँदा लामो तथा छोटो दूरीका सवारी साधनहरु व्यवस्थित रुपमा पार्किङ गर्न नपाउने समस्या अब छिट्टै अन्त्य हुने उहाँकाे भनाइ छ । उहाँले भन्नुभयो,-‘वालिङबाट छुट्ने तथा वालिङमा रोकिने ठूला, मझौला तथा साना सवारी साधनहरुको पार्किङको समस्या अब समाधान हुन्छ । लामो तथा छोटो दूरीका सवारी साधनहरु बाटोकाे छेउमा, निजी जग्गा वा अन्यत्र कहीं पार्किङ गर्नुपर्दैन।’
नमूना बसपार्कको टर्मिनल भवन, घेरा पर्खाल, वर्कशप र आन्तरिक बाटो लगायत सम्पूर्ण निर्माणको लागि १४ करोड ४१ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यसको लागि शहरी विकास कोषबाट ८० प्रतिशत ऋण तथा वालिङ नगरपालिकाको २० प्रतिशत लगानीमा काम सम्पन्न हुने प्रमुख खाँणले बताउनुभयाे ।
निर्माण सम्पन्न भए पश्चात बसपार्कमा प्रतिघण्टा ९६ वटा सवारी साधनहरु पार्किङ गर्न सकिने भएकाे छ । जीप, मिनीबस र माइक्रोबस लगायतका छोटो दूरीमा चल्ने सवारी साधनहरु प्रतिघण्टा ४२ वटा पार्किङ गर्न सकिनेछ । त्यसैगरी लामो दूरीमा चल्ने बसहरू प्रतिघण्टा ४८ वटा र बिजुलीबाट चल्ने बसहरु प्रतिघण्टा ८ वटा, प्रतिघण्टा २ पाङ्ग्रे १० वटा र निजी सवारी कारहरू २० वटा अटाउने वालिङ नगरपालिकाले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्