
काठमाडौं । गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरीको सरुवा बढुवामा आफूले कुनै किसिमको हस्तक्षेप नगर्ने प्रतिद्धता जनाउनुभएको छ ।
शुक्रबार प्रहरी प्रधान कार्यालय नक्सालको निरीक्षणका क्रममा मन्त्री लामिछानेले आफू कानूनसम्मत चल्ने कुरामा विश्वास गर्ने बताउनुभयो ।
नियम, कानून र विधिसम्मत रुपमा प्रहरी चलेमा गृह मन्त्रालय र आफूले कुनै हस्तक्षेप नगर्ने लामिछानेको भनाइ छ । प्रहरीको सरुवा, बढुवा कानुन अनुसार हुने तर्क गरेका उनले त्यसका लागि कुनै मन्त्री र नेताको दैलोमा नधाउन पनि आग्रह गर्नुभएको छ । सरुवा बढुवाकै लागि नेताको घरमा धाउने कुरालाई अन्त्य गर्न चाहेको बताउँदै उहाँले यदि कसैले त्यस्तो गरेको देखिए कारवाही गर्ने चेतावनी पनि दिनुभयो ।
उहाँले प्रहरी संगठनको बेथिति हटाउन जुट्ने पनि बताउनुभयो । उहाँले राम्रो काम गर्नेलाई पुरस्कृत र प्रहरीका आचरण विपरितका क्रियाकलाप गर्नेलाई दण्डित गर्ने पनि बताउनुभयो । आफूले प्रहरीभित्रका विकृति राम्ररी बुझेको बताउँदै मन्त्री लामिछानेले आफूले पनि कुनै कुरामा दबाब नदिने बताउँदै सबै कुरा कानूनले बाँधेर गर्ने प्रतिवद्धता जनाउनुभयो ।
उहाँले प्रहरीको सेवा, सुविधा, रासन र तलब स्केल सबैको पुनरावलोकन गर्ने पनि बताउनुभयो । प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले प्रहरीमा सरुवा बढुवाका लागि मापदण्ड समेत बनाइएको बताउँदै त्यसलाई अक्षरांश पालना गर्ने प्रतिवद्धता जनाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्