
म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले सार्वजनिक जग्गामा निर्माण भएका अव्यवस्थित भौतिक संरचना शुक्रवारदेखि डोजर लगाएर हटाउन सुरु गरेको छ ।
बसपार्क, सडक, पुल लगायतका क्षेत्रमा अतिक्रमण गरी निर्माण भएका संरचनालाई हटाउन सुरु गरिएको हो । बेनी नगरपालिका– ८ मा पर्ने कालीपुलको बसपार्क क्षेत्रमा निर्माणधिन बसपार्क क्षेत्रभित्र रहेका अव्यवस्थित संरचना हटाइएको हो ।
कालीपुल बसपार्कलाई विस्तार र निर्माणका लागि सञ्चालन भएको पूर्वाधार योजनालाई पूर्णता दिन अव्यवस्थित रुपमा रहेको टिकट काउन्टर, सार्वजनिक शौचालय र भवन हटाइएको वडा अध्यक्ष उत्तम कर्माचार्यले बताउनुभयाे ।
उहाँका अनुसार, अव्यवस्थित रुपमा सार्वजनिक जग्गामा सञ्चालित रेष्टुरेण्टलाई समेत एक साताभित्र हटाउने तयारी भएको छ । ‘बसपार्कलाई व्यवस्थित बनाउन यहाँका अव्यवस्थित संरचना हटाइएको हो, रेष्टुरेण्ट सञ्चालकले एक साताभित्र आफै खाली गर्छु भनेपछि समय दिएका छौँ’, वडा अध्यक्ष कर्माचार्यले भन्नुभयाे ।
नगरपालिकासंग सार्वजनिक जग्गा भाडामा लिएर बसेकाहरुले सम्झौताको म्याद सकिएको र नगरपालिकाले पटक–पटक ताकेता गर्दा समेत अटेर गरेपछि नगरपालिकाले डोजर लिएर अव्यवस्थित संरचना हटाउन सुरु गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्