
सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कोभिड-१९ लाई नियन्त्रण गर्नका लागि सबै नागरिकलाई अनिवार्य रूपमा मास्क प्रयोग गर्न निर्देशन दिएको छ ।
मित्र राष्ट्रहरू चीन र भारतमा कोरोना संक्रमण पुन: तीव्र रूपमा फैलिएपछि जिल्ला प्रशासनले यस्ताे निर्देशन दिएको हाे । जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जिल्लाका सबै सरकारी, सार्वजनिक र निजी संघ संस्थाहरुलाई आफ्ना कार्यालय परिसरमा न्यूनतम स्वास्थ्य मापदण्डको परिपालना गर्न अनुरोध गर्नुभएको छ ।
कोभिड-१९ संक्रमणको नयाँ स्वरुपमा (भेरियन्ट) देखापरेको र त्यसकाे जोखिम तथा असर नेपालमा पनि पर्न सक्ने भएकाले सजग रहन जिल्ला वासीहरुलाई अनुरोध गरिएकोे उहाँकाे भनाइ छ । बढी भीड-भाड हुने स्थानहरुमा मास्क तथा सेनिटाइजरको प्रयोग गर्न, एक-अर्कामा भौतिक दूरी कायम राख्न र व्यक्तिगत सरसफाई लगायतका आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्न जिल्लावासीलाई अनुरोध गरेको प्रशासनले जनाएको छ ।
पुस महिना लागेपछि भित्री तराईमा पर्ने सिन्धुलीसँग सीमा क्षेत्र जोडिएका मधेश प्रदेशका भारतका मुख्य नाकाहरूबाट हजारौं भारतीय पर्यटकहरू नेपाल प्रवेश गरेका छन् । सिन्धुली आएका भारतीय पर्यटकहरु मध्धे अधिकांश विपी राजमार्ग हुँदै काठमाडौं प्रवेश गर्ने गरेपछि यहाँ पूर्वसावधानीका उपायहरू अपनाउन थालिएको हो ।
प्रतिक्रिया दिनुहोस्