
स्याङ्जा । स्याङजाको कालीगण्डकी गाउँपालिकाले आफ्नै झण्डा, छाप र राष्ट्रिय गान प्रयोगमा ल्याउने भएको छ ।
स्याङ्गजाको कालीगण्डकी गाउँपालिका आफ्नै छाप, झण्डा र गान भएको स्थानीय तह बन्ने भएकाेहो । गाउँ कार्यपालिकाको यहि पुस १२ गतेको निर्णय अनुसार आफ्नै झण्डा, छाप र राष्ट्रिय गान प्रयोगमा ल्याउन लागिएको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो । छनौट भएको गाउँपालिका छाप र झण्डा दुवैको डिजाइन गाउँपालिकाभित्रकै प्रतिस्पर्धीबाट प्राप्त हुन आएका हुन् ।
छापको डिजाइनकर्ता वडा नम्बर ५ की रितिजा श्रेष्ठ र झण्डाको डिजाइनकर्ता वडा नम्बर ७ का मदन भट्टराई रहेका छन् । गाउँ कार्यपालिकाको गत असोज २७ गतेको निर्णय बमोजिम गाउँपालिकाले छाप र झण्डा डिजाइनका लागि खुल्ला प्रतिस्पर्धाको लागि सूचना प्रकाशित गरेको थियो । पालिकामा प्राप्त हुन आएका डिजाइनहरु मध्येबाट गाउँपालिकाको मौलिक विशिष्टता झल्काउने डिजाइनयुक्त छाप र झण्डा छनौट गरेको गाउँपालिकाका अध्यक्ष थापाले बताउनुभयो ।
यसअघि नै गाउँपालिकाभित्र हुने हरेक औपचारिक कार्यक्रममा नेपालको राष्ट्रिय गानसँगै आफ्नो गाउँपालिका गान प्रयोग गर्दै आएको थियाे । तर अब भने गाउँपालिकाको विशिष्ट पहिचान झल्किने छाप र झण्डा समेत प्रयोग गर्ने भएको छ । छाप, झण्डा र राष्ट्रिय गानको मर्यादित प्रयोगका लागि कार्यविधि समेत तय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेयले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्