७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


सिन्धुलीका रोडा ढुंगा अवैध रूपमा भारततर्फ चाेरी निकासी हुँदै


195
Shares

सिन्धुली । सरकार परिवर्तनकाे मौका छोपेर सिन्धुलीमा कमलानदी आसपासका चुरेभावर क्षेत्र, सर्लाही र महोत्तरीबाट नदीजन्य रोडा ढुंगाहरू भारततर्फ चोरी निकासी भएकाे छ ।

साँझ र रातिको समयमा चुरेभावर क्षेत्रका चोर बाटोबाट रोडा ढुंगाको अवैध रूपमा कारोबार गर्ने मानिसहरुले विकास निर्माणको कामको लागि भन्दै सर्लाही र महोत्तरी हुँदै भारतीय सीमा क्षेत्रमा पुर्याउने गरेका हुन् । केही समय यता सिन्धुली, धनुषा, महोत्तरी र सर्लाही लगायतका जिल्लाहरुका प्राकृतिक सम्पदाहरु बहुमूल्य ढुंगा,गिट्टी र वालुवाहरु पनि अवैध रुपमा भारतीय सीमा क्षेत्रमा पुर्याईन थालेपछि स्थानीयले विरोध गर्न थालेका छन् ।

सिन्धुलीका बहुमूल्य ढुंगाहरु कमलानदी क्षेत्रका विभिन्न स्थानमा संकलन गरेर ट्रिफर र ट्याक्टरमा लोड गर्दै आँखा छल्दै महोत्तरी जिल्लाको रातुखोलाको कालापानी र बर्दिबास क्षेत्रमा अनलोड गर्ने गरेकाे देखिएकाे छ । त्यहाबाट ठूला ट्रिफरहरुमा लोड गरेर महोत्तरी जिल्लाकै औरही, रामगोपालपुर हुँदै भारतीय सीमा क्षेत्र भिठ्ठामोड र सुरसण्ड सीमानाका नेपालकै भूमिमा अनडोल गराउने छन् ।

भारतीय क्षेत्रको भिठ्ठामोड, सुरसण्ड नाकाबाट भने भारतीय नम्बर प्लेटका ट्रक र ट्रिफरहरुमा ति ढुंगाहरु लोड भएर भारतीय सीमा क्षेत्रमा खुलेआम रुपमा बिक्रीवितरण भएको खुलासा भएकाे छ । सिन्धुली, धनुषा र महोतरी लगायतका जिल्लाहरुबाट अनियन्त्रित रुपमा ढुंगा गिट्टी-बालुवा भारत निकासी भएपछि स्थानीय स्तरमा सञ्चालित विकास निर्माणका योजना भने प्रभावित हुन थालेका छन् ।