
नवलपरासी । नवलपरासीको सुनवल नगरपालिकामा रहेकाे लुम्बिनी चिनी उद्योगको प्रदूषणका कारण यहाँकाे जनजीवन प्रभावित बनेको छ ।
बजार क्षेत्रमै रहेको उक्त उद्योगबाट निस्केको धुलो र दुर्गन्धका कारण स्वास्थ्यमा समेत प्रतिकूल असर पुर्याएको भन्दै स्थानीयवासीहरु उद्योगसँग आक्रोशित भएका छन् । यता प्रदूषण नियन्त्रणका लागि जडान गरिएको उपकरण प्रभावकारी नभएकाले नियन्त्रण गर्न समस्या भएको उद्योगका प्रशासन प्रमुख कुशप्रसाद सुवेदीले बताउनुभयो । प्रदूषण नियन्त्रणका लागि ल्याइएको उपकरणले काम नगरेपछि त्यसमा थप गर्न अर्को उपकरण मगाएकाले २-४ दिनमा समस्या समाधान हुने सुवेदीको दावी छ ।
नवलपरासीको लुम्बिनी चिनी उद्योगको प्रदूषण नियन्त्रणका लागि पटक-पटक माग गर्दा समेत वास्ता नगरेकाले अब उद्योग नै बन्द गर्ने सुनवलका स्थानीयले चेतावनी दिएका छन् । गत मंसिरको तेस्रो सातादेखि उद्योगले उखु क्रसिङ्ग सुरु गरेको छ । प्रदूषण नियन्त्रण गर्ने उपकरण राखेर मात्र उद्योग सञ्चालन गर्न माग गरेपनि वास्ता नगर्दा मानव स्वास्थ्यमा समेत प्रतिकूल असर परेको भन्दै स्थानीय आक्रोशित भएका हुन् ।
उद्योगले आगो बाल्नका लागि प्रयोग गरेको भूसका कारण त्यसबाट निस्केको कालो खरानीसहितको काणले नगर क्षेत्रका आधा भन्दा बढी वडाहरु प्रभावित भएका हुन् । सबै भन्दा बढी चिनी उद्योगको डिष्ट्रिलरीमा प्रयोग गरेको भूसले प्रदूषण बढेको छ । भूसको धुलो उडेर बालीनाली र सागसब्जी मर्न थालेका छन् । भूसको धुलोसहितको कणले त्यस क्षेत्रमा आँखा र छाला चिलाउनेका बिरामीहरु बढ्न थालेको स्थानीय दीपक खनाले बताउनुभयो ।
३ वर्ष बन्द रहेको उद्योग गत वर्षबाट सञ्चालनमा आएको हो । यस वर्ष प्रदूषणमुक्त उपकरण जडान गरेर मात्र सञ्चालन गर्ने सहमति गरेपनि अटेरी गरेर उद्योग चलाएको स्थानीय जीवन पौडेलले बताउनुभयो । प्रदूषण नियन्त्रण नगरी उद्योग चलाएकाले अब उद्योग नै बन्द गर्ने अवस्था सिर्जना भएको प्रदूषण नियन्त्रण संघर्ष समितिका संयोजकसमेत रहेका पौडेलले बताउनुभयो ।
यता प्रदूषण नियन्त्रणका लागि जडान गरिएको उपकरण प्रभावकारी नभएकाले नियन्त्रण गर्न समस्या भएको उद्योगका प्रशासन प्रमुख कुशप्रसाद सुवेदीले बताउनुभयो । प्रदूषण नियन्त्रणका लागि ल्याइएको उपकरणले काम नगरेपछि त्यसमा थप गर्न अर्को उपकरण मगाएकाले २-४ दिनमा समस्या समाधान हुने सुवेदीको दावी छ ।
करोडौं लगानी गरेर उद्योग सञ्चालन गर्ने तर प्रदूषण नियन्त्रणका लागि प्रयोग हुने उपकरण राख्न उद्योगीहरुले कञ्जुस्याई गर्दा उद्योग क्षेत्रका सर्वसाधारण मारमा पर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्