
२०७९ सालको आम निर्वाचन भएर पनि केन्द्रमा नयाँ सरकार बनिसकेको छ । प्रदेशहरुमा नयाँ सरकार बन्ने क्रममा छ । निर्वाचन पछि देखिने उत्साह भने कतै देखिँदैन ।
केन्द्रमा बनेको सरकारको आगामी गतिविधिप्रति न त नेपाली जनतालाई कुनै नयाँ अपेक्षा देखिन्छ, न त कुनै जिज्ञासा देखिन्छ । बरु कुनै पनि बेला सुन्नुपर्ने राजनीतिक दुर्घटनाको पो प्रतीक्षा देखिन्छ । यसको कारण होला, हालैको स्थानीय र प्रतिनिधि सभा र प्रदेश सभाहरुको निर्वाचनमा देखिएको सत्ताधारीहरुको गठबन्धन र सरकार बन्ने बेलाको नाटकीय विकासक्रम । सायद त्यसैले होला, १८ महिना पहिलेको घटना अब कुन दिन घट्ने हो भनेर पो नेपाली जनता प्रतीक्षारत देखिन्छन् । त्यस्तो नहोस्, राजनीतिक स्थिरता कायम होस् र जसले सरकार चलाए पनि सामाजिक न्यायको प्रत्याभूतिसहित राज्य सञ्चालन गरुन् भन्ने चाहना नागरिक समाजको देखिन्छ । तर मुलुकको राजनीतिको परिणाम नेपालीहरुको मतले मात्र नहुने रहेछ भन्ने कुराको गूढार्थ फेरि बुझ्न नेपालीहरु अभिशप्त भएका छन् ।
२०७८सालको जेठ ७ गते मध्यरातमा गरिएको प्रतिनिधि सभाको दोस्रोपटकको विघटनपछि स्वतःस्फूर्तरुपमा तयार गरिएको राजनीतिक तयारी जुन पछि गएर पाँच दलीय नयाँ गठबन्धन बन्यो, जुन पछि गएर सत्ता गठबन्धनकै पाँचदलीय गठबन्धनको रुपमा विकसित भयो । त्यही बेलादेखिको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाबाट बाहिरिएका , एमालेबाट बाहिरिएका सांसदहरुको राजनीतिक बाचा र प्रतिबद्धता स्मरण गर्ने नेपालीहरु के सम्म भन्न रुचाउन थालेका छन् भने अहिलेको गठबन्धन पनि कृत्रिम हो जस्तो कि नेकपा गठन हुँदा एमाले र माओबादी केन्द्रको एकता बलजफ्ती रुपमा भएको देखिएको थियो ।
जे भए पनि त्यो गठबन्धन एकप्रकारले निर्बाधरुपमा चलेको थियो । भित्रभित्रै जेजे खिचडी पाकेको अनभूत हुँदा पनि पुस १०गते विहान ११बजेसम्म दन्तबझानविना नै चलेको थियो जस्तो कि गठबन्धनका बेलामा भनिएको थियो । निर्वाचनका बेलामा पनि भनिएको थियो, जस्तोसुकै परिस्थितिमा पनि यो गठबन्धन टिकेर रहने छ । सायद यही भनेर नै कांग्रेसले माओबादी, नेकपा एस, राष्ट्रिय जनमोर्चाको झन्डा बोकेर मत मागेको थियो र ती दलहरुले पनि कांग्रेसलाई मत मागेका थिए । कतिपय परिणाम साँच्चै अनपेक्षितरुपमा नै सकारात्मक थियो । अझ भन्ने नै हो भने नेकपा एसको हैसियत बढाउन प्रतिनिधि सभाका १०क्षेत्रमा र कतिपय प्रदेश सांसदहरुको जितमा एकीकृत मतले ठुलो भूमिका निर्बाह गरेको देखिन्थ्यो ।
झट्टहेर्दा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाले दुई पद( प्रधानमन्त्री र राष्ट्रपति) नछोड्ने अडानका कारणले गठबन्धन तोडिएको भन्ने भाष्य बनेको भए पनि यो यस्तै हुने गरी भएका कूटनीतिक प्रयासहरु भएका नांगै आँखाले पनि देखिन्थे । शान्त कूटनीतिसँग पाकेको भात खाने नयाँ महत्वाकांक्षाले काम गरेको थियो र भैँसी पाल्नुभन्दा बजारमा तयारी भएको पोकाको दूधको प्रयोग गर्ने हल्ला धेरै पहिलेदेखि राजनीतिक वृत्तमा थियो । झन त्यसमा पुरानो इख बोकेर बस्नु भएका पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको पासोले ती नेपाली कांग्रेस र माओबादी गठबन्धन टुटाउन लागी परेका कूटनीतिक प्रयासका लागि ठुलो मद्दतको काम गरेको पाइयो । जे हुनुपर्ने थियो भयो भन्ने पनि छन् र जे नहुनुपर्ने थियो, त्यो अचानक घाँसमा हरियो सर्प बसेझैँ गरी सहजताका साथ भएझैँ सम्पन्न भयो । यसलाई एमसीसी पछिको कूटनीतिक नियति मान्ने पनि छन् भने कांग्रेसभित्रै पलाएको नयाँ महत्वाकांक्षाको पटाक्षेप मान्ने पनि छन् ।
अब के हुन्छ ? नयाँ नयाँ पात्रहरुको अनपेक्षित र अचानक प्रवेशले प्रजातन्त्रलाई धरापमा लैजान्छ कि लिगमा फर्काउँछ भन्ने जिज्ञासा, भय र अनपेक्षित राजनीतिक परिणामको अवस्था सृजना भएको छ । तर सबैमा कुनै पनि बेला घट्न सक्ने राजनीतिक दुर्घटनाको पो प्रतीक्षा देखिन्छ । यस्तो नहोस् र दुर्घटना टरोस् । तर स्थितिको विकासक्रम हेर्दा सहज पनि छैन, मुलुकको राजनीतिले सकारात्मक परिणामको अपेक्षा कतै गरिँदैन । किन होला ?
पुराना पात्रहरुको साँढे जुधाइ होस् र मुलुक झन अस्थिरततर्फ जाओस् भन्ने चाहना बाहिर र भित्रका पात्रहरुको बुझ्न सकिन्छ । त्यसको तयारी मिहिन तरिकाले भएको र त्यसको तयारीका लागि नेपाली कांग्रेसलाई नै परोक्षरुपमा प्रयोग गरिएको पनि बुझ्न सकिन्छ । यसको उदाहरणमा कांग्रेसमा देखिएको माओबादी प्रेम जसलाई पार्टी कार्यकर्ताहरुप्रतिको निर्मम व्यवहार र आफ्नाको भन्दा बाहिरियाको मायाले बढी नै प्रभाव पारेको देखिन्थ्यो । त्यसको कारणमा धेरै प्रमाणहरु आए र नेपाली कांग्रेसमा देउवाजी पछि लगत्तै हुने प्रधानमन्त्रीको भित्री चयनले भूमिका खेलेको मानिन्थ्यो । तर अचानक पुरानो सत्ता गठबन्धन टुटेर नयाँ गठबन्धन हुने बित्तिकैको केही छिमेकीहरुको हतार हतारको व्यवहारले पनि नयाँ विवादले जन्म लिएको छ र मुलुक विदेशीहरुको खेलमैदान हुने र अहिलेको गठबन्धनले त्यसको समाधान गर्न नसक्ने जुन देखिएको छ ।
समय नेपाली कांग्रेसले पाएको छ भुइँमानिसहरुसँगको सम्पर्कका लागि किनभने कुनै पनि बेला मध्यावधि निर्वाचनको घोषणा हुनसक्छ जसले नेपाली कांग्रेसलाई २०७४मा भन्दा पनि तल पार्ने योजनामा काम भएको देखिन्छ । पक्कै कांग्रेसीजनले बुझेका त होलान् नै । त्यसो त विषाद र खुसीमा यसै पनि होस गुमाउने चलन मानवीय स्वभाव नै हो । मात्र प्रधानमन्त्रीको पद गएको हो, जनता नेपालमा नै छन्, प्रजातन्त्रको आदर्श नभएकाहरुसँग प्रजातान्त्रिक आचरण आशा नगरी अघि बढ्ने काम सायद नियतिले नेपाली कांग्रेसको भागमा पारेको देखिन्छ । यसैलाई सौभाग्य मानेर प्रजातन्त्रको दिल र दिमागले उपासना गर्नु नै नेपाली कांग्रेसका लागि नयाँ मौका हो ।
प्रतिक्रिया दिनुहोस्