
बझाङ । वित्थडचिर गाउँपालिका वडा नम्बर २ को वडा कार्यालयको सेवा प्रवाह प्रभावकारी नभएको स्थानीय बासिन्दाले गुनासो गरेका छन् ।
कार्यालयमा निर्वाचित जनप्रतिनिधी नआउँदा सेवा लिन निकै कठिन हुने गरेको वित्थडचिर गाउँपालिका वडा नम्बर २ का स्थानीय तथा पुर्व वडा सदस्य रण बहादुर बोहराले जानकारी दिनुभयो ।
वडा कार्यालयमा वडा अध्यक्षदेखि वडा सदस्य कोही पनि आउदैनन् । उहाँले भन्नुभयाे, ‘सामान्य सिफारीस तथा केही कार्यालयको कामका लागि वडा कार्यालयमा जाँदा सबै काम हुन्छ । तर वडा अध्यक्ष नहुँदा सिफारीसमा हस्ताक्षर गर्नकै लागि २/३ दिन कुर्नु पर्ने हुन्छ । यदि महत्वपुर्ण तत्कालै हुने काम छ भने कित अध्यक्षको घर पुग्नपर्छ । कित अध्यक्ष कहाँ छन् ? भनेर खोजी गरेर उहाँ बसेकाे होटेलसम्म पुग्नु पर्ने अवस्था आएको छ।’
यस विषयमा आफुहरुले पालिकाका प्रमुखलाई समेत जानकारी गराई सकेको उहाँले बताउनुभयाे । वडा सचिव शिवलाल साउदले पनि केही समयदेखि कार्य व्यस्तताका कारण वडा कार्यालयमा अध्यक्ष नआएको स्वीकार गर्दै उहाँले भन्नुभयाे, ‘निर्वाचित भएको केही समय त वडा कार्यालयका आउनु हुन्थ्यो । तर केही समयदेखि कार्यालयमा उपस्थित हुनुभएको छैन । केही काममा व्यस्त हुनुहुन्छ होला । आफूले सिफारिस तथा अन्य ठाउँमा हस्ताक्षर गर्न मिल्दैन । प्रमाणको आधारमा आएका सेवाग्राहीहरुको काम मेरो तर्फ बाट हुनेत चाँडै बनाईदिन्छु । तर अध्यक्ष नभएका कारण केही समय लाग्ने गरेको छ।’
समयमा नै सेवा लिन आएका यहाँका सेवाग्राहीहरु अध्यक्षलाई खोजेर हस्ताक्षर गर्दै आएको स्थानीयले बताएका छन् । वडा कार्यालयबाट वडा अध्यक्षको होटेल सम्म पुग्न ८० रुपैया अटो भाडा लिन्छ । आउन जान एउटै सामान्य सिफारिसका लागी १६० रुपैयाँ भडामात्रै तिर्नु परेको गुनासो सेवाग्राहीहरुको छ ।
यता वडा नम्बर २ का वडा अध्यक्ष मान बहादुर बोहराले यी सबै कुराहरु झुटो भएको र आनावष्यक आरोप मात्रै लगाएको बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘केही काम विषेश भएमा वा बाहिर जिल्ला जानु परेको खण्डमा कार्यवाहक दिएर जान्छु नभए म जनताको साथमा नै हुन्छ । अब कहिले काँही त घरको काम पर्छ । काम नगरेर खान पुग्दैन । त्यसैले कहिले काँही त्यस्तै महत्वपुर्ण काम छ भने घरको काम गर्छु । नभए घर नजिकै रहेको वडा कार्यालयमा नै पुगेर काम गर्दै आएको छु । कहिले कार्यालयको कामले पनि बाहिर गएको समयमा कोही सेवाग्राहीहरु आए होलान तर आफू भने वडा कार्यालयको काम र नागरिकको कामलाई पहिलो प्राथमितामा राखेर काम गर्दै आएको छु’।
प्रतिक्रिया दिनुहोस्