
काठमाडौं । जाडो मौसम सुरु भएसँगै विभिन्न स्वास्थ्य समस्या देखा पर्न थालेका छन् । अबका दिनहरुमा अझै चिसो बढ्ने भएकाले आफूसँगै दीर्घरोगी, वृद्ध–वृद्धा, बालबालिकाकालाई जोगाउन चिकित्सकले सुझाव दिएका छन् ।
चिसोसँगै जटिल तथा नसर्ने रोगीहरुलाई बढी समस्या हुने गर्दछ । सरुवा रोगको हकमा जाडो मौसम केही सहज भए पनि दीर्घरोगी, वृद्ध–वृद्धा बालबालिकाका लागि जाडो मौसम जोखिम हुने गर्दछ । सामान्यतथा बाथरोग, मुटुजन्य रोग, श्वास–प्रश्वासमा समस्या भएका र छालामा देखिने रोग यो चिसो मौसम सुरु हुना साथ जटिल बन्दै जाने गर्दछ । यस किसिमका रोगीको यो मौसममा विशेष हेरचाह नभए ज्यान जोखिममा पर्न सक्छ ।
यो मौसममा बालबालिकालाई चिसो लाग्दा रुघा, खोकी, ज्वरो आउने, झाडापखला लाग्नेलगायतका समस्या देखिन्छ । त्यस्तै, जाडो मौसममा नाक, कान, औंलाका टुप्पाहरु रातो हुने, जोर्नी तथा औंला सुन्निने जस्ता समस्या पनि देखिन्छ । चिसोमा यस्ता रोग देखिने व्यक्तिहरुले आफ्नो शरीरको समस्या बुझेर आफै सर्तक हुनु पर्ने सुझाव चिकित्सकहरुको छ । यस्ता व्यक्तिहरुले न्यानो लुगा प्रयोग गर्ने, मोजा, टोपी, गलबन्दीको प्रयोग गर्ने, यी अंगहरुमा सिधै चिसो पानी नपार्ने, मनतातो पानीले मात्र मुख तथा हात धुने गर्नुपर्ने सरुवा रोग विशेषज्ञ शेरबहादुर पुन बताउनुहुन्छ ।
मौसम परिवर्तनसँगै मानिसको शरीरमा रोगसँग लड्ने प्रतिरोधात्मक शक्ति कम हुँदा चिसो महिनामा सजक रहन चिकित्सकहरुले सुझाव दिएका छन् । यता, जाडोका कारण रुघाखोकी झाडापखला लगाएतका बिरामीहरु बढे पनि अस्पताल आउनेको संख्या भने न्यून रहेको बताइन्छ । जाडोमा जथाभावी औषधिको प्रयोग झनै जटील हुने भएकाले चिकित्सकको सल्लाहबाट मात्र औषधि प्रयोग गर्न डा. पुन बताउनुहुन्छ ।
जाडोमा न्यानो कपडा लगाउने र तातो खाना खाने, पानी उमालेर मात्र पिउने, स्वस्थ खाना मात्र खाने हो भने पनि चिसोबाट लाग्ने रोगबाट बच्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्