
सिन्धुली । सिन्धुलीमा चिसो बढेसँगै जुनार बिक्री वितरणमा कमी आएको छ ।
पुस महिनाको मध्यदेखि भित्री तराईका विभिन्न स्थानहरुमा हुस्सु लागेका कारण ग्राहकहरुले जुनार किनेर खाने क्रममा कमी आएको स्थानीय व्यापारीहरुले बताएका हुन् । मंसिरको अन्तिम साता र पुसको पहिलो सातासम्म सिन्धुलीमाडी र आसपासका क्षेत्रमा दैनिक ५ देखि ६ सय केजीसम्म जुनारको बिक्री वितरण भइरहेको थियाे । तर चिसो बढेसँगै १ सयदेखि १ सय ५० केजीको जुनार बिक्री वितरण भइरहेको एक तथ्यांकले देखाएको छ ।
चिसो मौसममा ग्राहकहरुले जुनारको उपयोग गर्ने भन्दा अन्य तातो खानेकुरा किनेर खाने भएका कारण जुनारको खपतमा कमी आएको स्थानीय व्यापारीहरुले बताएका छन् । सिन्धुलीका जुनार उत्पादक किसानहरुको बगैंचामा फलेका ५० प्रतिशत जुनारहरु चिसो मौसममका कारणले अझै बिक्री वितरण हुन सकेका छैनन् ।
चिसो मौसममा बोटबाट टिपेका जुनारहरु बिक्री केन्द्रहरुमा लामो समयसम्म बिक्री वितरण हुन सकेका छनन् । जसका कारण कतिपय व्यापारीहरूले जुनार बिग्रेर खेर जान थालेको अनियाखर्कका व्यापारी लोक मगरले बताउनुभएकाे छ ।
प्रतिक्रिया दिनुहोस्