२० चैत्र २०८१, बुधबार | Thu Apr 3 2025


मेलम्चीको पानी वितरणका लागि दोस्रो चरणको सञ्जाल निर्माण तीब्र


182
Shares

काठमाडौं । मेलम्चीको पानी राजधानीमा वितरण गर्न दोस्रो चरणमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) आयोजना कार्यान्वयन निर्देशनालयले ७९६ किलोमिटर वितरण सञ्जाल निर्माण गरिरहेको छ ।

बालुवाटार, स्वयम्भू, मण्डिखाटार र कपन क्षेत्रमा निर्माण भइरहेको ७९६ किलोमिटर वितरण सञ्जालमध्ये ४२७ किलोमिटरको काम सकिएको निर्देशनालयका प्रवक्ता चन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । बाँकी काम पनि चालु आर्थिक वर्षको अन्त्य अर्थात् असार मसान्तसम्म सकिने उहाँको भनाइ छ ।

वितरण सञ्जालमा चार वटा निर्माण कम्पनीले काम गरिरहेका छन् । सात अर्ब ३६ करोड तीन लाख ८४ हजार रुपैयाँको लागतमा दोस्रो चरणको सात सय ९६ किलोमिटर वितरण सञ्जालको काम भइरहेको हो ।

निर्देशनालयले पहिलो चरणमा एक हजार १० किलोमिटर वितरण सञ्जाल निर्माण गरिसकेको छ । त्यसमध्ये पाँच सय ३२ किलोमिटर वितरण सञ्जालमा मेलम्चीको पानी परीक्षण भइसकेको छ । पहिलो चरणमा निर्माण भइसकेको क्षेत्रमा पनि पानी परीक्षणको काम जारी छ ।