१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानमन्त्री दाहालद्वारा विभिन्न मन्त्रालयको काम कारबाहीबारे चासो व्यक्त


156
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विभिन्न मन्त्रालयको काम कारबाहीबारे जानकारी लिनुभएको छ ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा विभिन्न मन्त्रालयका सचिव र विभागीय प्रमुखहरुलाई बोलाई त्यसका काम कारबाहीको विवरण लिनुभएको हो ।

सरकार प्रमुखको हैसियतले प्रधानमन्त्री दाहालले विभिन्न मन्त्रालय र निकायहरुको कामकारबाही जानकारी लिने काम सुरु गर्नुभएको नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीेले जानकारी दिनुभयो ।

त्यसक्रममा सचिवहरुले आ-आफ्नो मन्त्रालयको प्रगति विवरण र आफूहरुले भोग्नु परेको समस्याका बारेमा प्रधानमन्त्री दाहाल समक्ष ब्रिफिङ गर्नुभएको थियो ।

मुख्य सचिव बैरागीले भन्नुभयो, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको निर्देशन भोली आउँछ । हामी छलफलकै क्रममा छौं । विभिन्न मन्त्रालयहरुबाट संक्षेपमा प्रस्तुती भएको छ । केही निकायहरु बाँकि छन । त्यो भोली सबैको विवरण लिईसकेपछि सम्माननीय प्र्रधानमन्त्रीज्यूको निर्देशन आउँछ । सरकार प्रमुखका रुपमा विभिन मन्त्रालय, निकायहरुले कसरी काम गरिरहेका छन ? के भईराखेको छ । हाम्रो विकासको गति कस्तो छ ? त्यो सरकार प्रमुखले जान्ने स्वभाविक प्रक्रिया नै हो । त्यही सन्दर्भमा छलफल भएको हो । सचिवज्यूहरुले आ–आफ्नो मन्त्रालयका इस्यूहरु र आफूले भोग्नु परेका समस्याबारे राख्नु भएको छ । त्यसको सम्माननीय प्रधानमन्त्रीज्यूबाट सम्बोधन भोलि हुन्छ ।’

तर सबै मन्त्रालयका सचिवहरुले आजै सबै विवरण भने प्रधानमन्त्री समक्ष पेश गर्न सकेका छैनन् । मुख्यसचिव बैरागीका अनुसार भोली पुनःछलफल हुने र प्रधानमन्त्री दाहालले नेपाल सरकार सचिवहरुलाई निर्देशन दिनु हुने छ । प्रधानमन्त्री भएपछि दाहालले पहिलो पटक विभिन्न मन्त्रालयका काम कारबाहीबारे चासो लिनुभएको हो । प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री नियुक्त भएलगत्तै आर्थिक विकास र सुशासन आफ्नो मुख्य काम हुने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।