२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


आर्थिक समृद्धिलाई एजेण्डा बनाउने सुदूरपश्चिम प्रदेशका सांसदको प्रतिवद्धता


13
Shares

कैलाली । सुदूरपश्चिम प्रदेशसभामा नवनिर्वाचित सदस्यहरुले सुशासन र समृद्धिका लागि काम गर्ने बताएका छन् । प्रदेशसभा सदस्यहरुले पाँच वर्षे कार्यकालमा सुदूरपश्चिमको समृद्धि र आर्थिक विकासका एजेण्डालाई संसदमा उठाउने प्रतिवद्धता जनाएका छन् । पहिलो कार्यकालमा जनताले प्रदेश सरकारको अनुभूति गर्न नपाएको भन्दै अबको पाँच वर्ष जनताका मागलाई सम्बोधन हुने गरी काम गर्ने बताएका छन् ।

सुदूरपश्चिम प्रदेश सभाको दोस्रो कार्यकालका लागि ५३ जना प्रदेशसभा सदस्यहरु निर्वाचित भएका छन् । ५३ सदस्यीय प्रदेशसभामा चार जनाबाहेक सबै नयाँ अनुहार छन् । २०७४ सालमा निर्वाचित सदस्यहरुमध्ये चार जना मात्रै दोहोरिएका छन् । नवनिर्वाचित प्रदेशसभा सदस्यहरुले समग्र सुदूरपश्चिमको विकास र समृद्धिका लागि जनजीविकासँग सम्बन्धित मुद्दाहरुको उठान गर्ने प्रतिवद्धता जनाएका छन् ।

सुदूरपश्चिम प्रदेशसभामा नयाँ अनुहार र युवाको संख्या यस पटक बढी छ । प्रदेशसभा सदस्यहरुले प्रदेशका जनताको हितका लागि काम गर्दै कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने योजना बनाएका छन् ।

संघीयताको पहिलो वर्षमा प्रदेश सरकारबाट खासै काम नभएको गुनासो बढिरहेका बेला जनताले आश गर्ने गरी काम गर्ने नवनिर्वाचित प्रदेशसभा सदस्यहरुको प्रतिवद्धता छ । जनताहरु माँझ गरेका बाचा पुरा गर्नेतर्फ केन्द्रित हुने र विषेश गरी सुशासन कायम गरी जनताका हितमा कानून निर्माण गर्ने प्रदेशसभा सदस्य प्रकाश देउवा बताउनुहुन्छ ।

कैलाली, कञ्चनपुर बाहेकका सात पहाडी जिल्लाहरुमा अझै पनि विकासका सबै पूर्वाधारहरु पुग्न सकेको छैन । पहाडी क्षेत्रहरुमा विद्यमान समस्याहरुका साथै जनतासँग जोडिएका विकासका मुद्दाहरु संसदमा उठाउने प्रदेशसभा सदस्यहरुको अडान छ ।

सुदूरपश्चिमका नवनिर्वाचित प्रदेशसभा सदस्यहरुले यो कार्यकालमा केही फरक अनुभुति दिलाउने यहाँका नागरिकको अपेक्षा छ ।