
सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकामा जैविक मल कारखाना स्थापना गरिने भएको छ ।
कारखाना स्थापनाको लागि थुलुङ दुधकोशी गाउँपालिका र हिमालय एग्रोएकोलोजी रिसर्च एन्ड डेभलपमेन्ट बिचसम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता पत्र अनुसार पहिलो पक्ष भनिएको गाउँपालिकाले १० लाख रुपैयाँ रकम व्यवस्था गरी भवन निर्माण गर्ने छ भने दोस्रो पक्षले सम्झौता अवधिमा एक जना पूर्णकालीन कर्मचारीको व्यवस्था गरी आवश्यक सीप तथा औजार सामाग्री हस्तान्तरण गर्ने छ ।
त्यस्तै, जैविक मलको ब्रान्ड र बजारीकरण समेत गर्नेछ । कार्यक्रममा महिला उद्यमशीलतामा जोड दिइने गाउँपालिका अध्यक्ष असिम राईले बताउनुभयो ।
उहाँका अनुसार उद्यमशीलता विकासको लागि पाँच जना महिलालाई एक लाख ५० हजार रुपैयाँ अनुदान उपलब्ध गराइनेछ ।
उक्त कार्यको दायित्व दोस्रो पक्षको रहने बताइएको छ । २०८२ सालको पुस मसान्तसम्म उक्त कार्य पूरा गरी गाउँपालिकालाई हस्तान्तरण गरिने सम्झौता गरिएको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।
सम्झौता पत्रमा गाउँपालिका अध्यक्ष राई र डेभलपमेन्टका अध्यक्ष माधवी मगरले हस्ताक्षर गर्नुभएको छ । जैविक मल निर्माण पश्चात यहाँको कृषि उत्पादन वृद्धिसँगै आयअर्जनमा समेत टेवा पुग्ने विश्वास लिइएको छ ।
प्रतिक्रिया दिनुहोस्