
काठमाडौं । संसदको ठूलो दल भएर पनि केन्द्र र प्रदेश सबैतिरबाट सत्ता विमुख भएपछि कांग्रेसमा अहिले सन्नाटा छाएको छ । पछिल्लो सत्ता समीकरणपछि मुख्य गरी कांग्रेसको संस्थापन पक्ष आन्तरिक र बाह्य दवावका कारण उकुसमुकुसको अवस्थामा छ । चाहना विपरितको सत्ता बहिगर्मनले निरासा र आक्रोशपूर्ण अवस्था रहेको बेला पार्टी सभापति शेरबहादुर देउवाले समसामयिक विषयमा छलफल गर्न भन्दै पुस २२ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाउनुभएको छ । केन्द्रीय समिति बैठकको लागि संस्थापन र इतर दुवै पक्षले आ–आफ्नो रणनीति बनाइरहेका छन् ।
२०४६ सालको परिर्वतनपछि मुलुकको ‘पावर पोलिटिक्स’का लागि कांग्रेस सभापति शेरबहादुर देउवा चर्चित नाम हो । तर, यसपटक मुखैको सत्ता गुमाउनु परेपछि भने देउवाले नराम्रो झट्का बेहोर्नुभएको छ । यो प्रकरणले देउवालाई पार्टीभित्र पनि असहजता उत्पन्न भएको छ । कांग्रेसमा संस्थापनइतर पक्ष धेरै चिरामा विभाजित हुँदा जति सुकै कठिन परिस्थितिमा पनि देउवा पक्ष एक ढिक्का थियो ।
तर, गठबन्धन बनाएर चुनाव जिताएको माओवादीलाई आफूसँगै राख्न नसकेपछि सम्भवतः पहिलो पटक देउवा समूहमा देखिने गरी नै चिरा परेको छ । देउवापक्षकै कतिपय प्रभावशाली नेताहरुले सुरुमै प्रधानमन्त्री बन्ने देउवाको हठ र उहाँको टीमको गलत सल्लाहका कारण सबै सत्ताबाट कांग्रेस चिप्लिएको भन्दै सार्वजनिक रुपमा टिप्पणी गरेका छन् ।
पछिल्लो राजनीतिक घटनाक्रमको कारण देउवा रक्षात्मक अवस्थामा पुग्नुभएको छ । आफूपछिको सर्वमान्य नेतृत्व स्थापित गर्नुपर्ने बाटोमा रहनुभएका देउवालाई टीम भित्रैको झगडाले थप चिन्ता थपेको छ । सत्ता र शक्तिको प्रतिस्पर्धामा जित्दा नेताहरूबीच जस लिन र प्रतिक्रिया दिन तँछाडमछाड चल्ने गरे पनि पछिल्लो समय हार र कमजोरीमा संस्थापन पक्षका नेताहरु चुपचाप देखिन्छन् ।
संस्थापन इतर पक्ष भने आक्रामक देखिएको छ । कांग्रेस संसदीय दलको नेतामा सभापति देउवाविरुद्ध मोर्चाबन्दी गरेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा देउवामाथि थप दवाव बढाउने रणनीतिमा छन् । देउवाको हठले कांग्रेस सत्ताबाट विमुख हुनुपरेको भन्दै यी दुई नेताले खुलेरै विरोध गरिरहेका छन् ।
मेलमिलाप दिवसमा ५ बुँदे संयुक्त विज्ञप्तिमार्फत महामन्त्रीद्धयले बिना आग्रह र पूर्वाग्रह आत्मसमीक्षा र आत्ममूल्यांकन गर्नु पर्ने माग राख्दै आगामी दिनमा थप दवाव बढाउने रणनीति लिएका छन् । महामन्त्रीद्धयकै अगुवाइमा इतर पक्ष विशेष महाधिवेशन र पार्टी सभापतिको राजीनामाको विषय केन्द्रीय समितिमा उठाउने तयारीमा छ । विशेष महाधिवेशन र पार्टी सभापतिको राजीनामाको विषयलाई केन्द्रीय समितिबाट निर्णयमा पुर्याउनुपर्ने नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे बताउनुहुन्छ ।
आफू पक्षीय युवा नेताहरू आक्रामक देखिँदै गर्दा इतर समूहको नेतृत्व गरिरहनुभएका डा. शेखर भने संयम देखिनुभएको छ । डा. कोइराला महाधिवेशन भएकै वर्ष विशेष महाधिवेशन बोलाउने गरी अगाडि बढ्ने मनस्थितिमा देखिनुहुन्न । केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यले लिखित रुपमा माग गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने कांग्रेस विधानमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्