२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


चिसोले खुम्बुको जनजीवन कष्टकर, तापक्रम माइनस २ डिग्रीभन्दा कम


117
Shares

सोलुखुम्बु । चिसोले खुम्बुको जनजीवन कष्टकर बनेको छ । केही दिनयता निरन्तर बढेको चिसोका कारण नाम्चे, खुम्जुङ, थामे, लुक्लालगायतका क्षेत्रका नागरिकको दैनिकी कष्टकर बनेको हाे ।

शुक्रबारबाट नाम्चेसहितका क्षेत्रमा हिमपात सुरु भएसँगै चिसो अत्याधिक बढेको लुक्लाका तोयाकुमार श्रेष्ठले जानकारी दिनुभयो । चिसोका कारण त्यहाँका नागरिकहरु आगो तापेर बसेका छन् भने घर बाहिरको काम गर्न समेत कठिनाई भएको बताइएको छ ।

चिसोले बालबालिका तथा बृद्धबृद्धाहरुलाई बढी प्रभावित बनाएको छ । लुक्लाको न्यूनतम तापक्रम माइनस १.६ डिग्री सेल्सियस भन्दा तल झरेको हावापानी मापन केन्द्र लुक्लाले जनाएको छ । लुक्लाभन्दा माथिल्लो क्षेत्रको तापक्रम भने माइनस २ भन्दा कम रहेको बताइएको छ । तापक्रम घटेसँगै पानी जम्न थालेकाले दैनिकी कष्टकर बनेको हो ।

खुम्बु क्षेत्रसहित सोलुदूधकुण्ड नगरपालिकाका अधिकांश वडाहरुमा पछिल्लो समयमा चिसो बढ्न थालेपछि जनजीवन प्रभावित बनेको छ ।

दरमुकाम सल्लेरीबाट देखिने तामाखानीको पिकेडाँडा, टाक्सिन्दु, वेनी, जुभिङ्गलगायत आधादर्जन गाउँपालिकासहित आसपासका डाँडाहरुमा सेताम्मे तुसारो पर्दा चिसोमा अत्यधिक बढेकाे हाे ।

चिसो बढेलगत्तै जिल्ला अस्पताल फाप्लुमा बिरामीको चाप बढेको अस्पतालले जनाएको छ । चिसोका कारण हुने निमोनिया, रुघाखोकी, टाइफाइड, ज्वरोका बिरामीको संख्या बढेको हो ।

चिसोमा बिरामी हुनबाट बच्नका लागि न्यानो कपडा लगाउने तथा खानपानमा ध्यान दिनुपर्ने चिकित्सकहरुको सुझाव छ । बाक्लो कुइरो समेत लाग्न थालेपछि जिल्लाको माथिल्लो तथा तल्लो क्षेत्रमा अत्याधिक चिसो बढेको हो । अहिले सदरमुकाम सल्लेरी र आसपासका स्थानीय बासिन्दाहरुलाई चिसोले घर बाहिर निस्किन समस्या भएको पाइएको छ ।