२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


बिहीबार कांग्रेस संस्थापन इतर पक्षको बैठक


234
Shares

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर डा. शेखर कोइराला र महामन्त्री गगन थापा समूहले बिहीबार आफू पक्षीय नेताहरुको बैठक बोलाएको छ ।

बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बोलाइएको बैठकमा इतर समूहका शीर्ष नेताहरु, केन्द्र र प्रदेशमा निर्वाचित सांसद÷पराजित उम्मेद्वार र भ्रातृ संस्थाका नेताहरु सहभागी हुने बताइएको छ ।

बैठकमा चुनावी समीक्षा र पुस २२ गते बस्ने केन्द्रीय समितिको बैठकमा उठाउनुपर्ने मुद्दाबारे छलफल हुने बताइएको छ । संस्थापन इतर समूहका शीर्ष नेताहरुको पुस १३ गते बसेको बैठकले केन्द्रीय समिति बैठक अगाडी नै भेला बोलाउने निर्णय गरेको थियो । उक्त बैठकले पार्टी सभापतिसहितको सानो समूहको सत्ता लिप्साका कारण गठबन्धन टुटेर कांग्रेस सत्ता विमुख भएको निष्कर्ष निकालेको थियो ।

इतर समूहका युवा नेताहरु पार्टीको आगामी केन्द्रीय समिति बैठकमा पार्टी सभापति शेरवहादुर देउवाको राजीनामा र विशेष महाधिवेशनको माग गर्ने तयारीमा छन् ।

इतर समूहको नेतृत्व गरिरहनुभएका डा. शेखर कोइराला भने चुनावी समीक्षा र कांग्रेस नेतृत्वको गठबन्धन टुटेको सम्बन्धनमा निर्मम समीक्षा गर्नुपर्ने तर तत्काल सभापतिको राजीनामा र विशेष महाधिवेशनको मागसम्मको तहमा पुग्न नहुने पक्षमा देखिनुभएको छ ।