
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजना तथा विवादित भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसको सञ्चालनमा जारी फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगमा देखिएको विवादबारे गृह मन्त्रालयले चासो दिएको छ ।
९ पुसदेखि त्रिवि मैदानमा सुरु भएको प्रतियोगितामा खुलेआम सट्टेबाजी, सम्भावित म्याच फिक्सिङ र श्रम स्वीकृतिबिना विदेशी खेलाडीलाई खेलाइएकोबारे अनुसन्धान गर्न गृहमन्त्री रवि लामिछानेले प्रहरी मुख्यालयलाई निर्देशन दिनुभएको हो ।
गृहमन्त्रीको सचिवालय श्रोतका अनुसार मन्त्री लामिछाने आफैंले प्रतियोगिताबारे सार्वजनिक भइरहेका तथ्यमा चासो राख्दै मंगलबार नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)मार्फत अनुसन्धानका लागि निर्देशन दिनुभएको हो । मन्त्रालयको निर्देशनअनुसार सीआईबीले आजदेखि नै अनुसन्धान सुरु गरिसकेको छ ।
सट्टेबाजी घरहरु सञ्चालन गर्नेसमेतको उद्देश्यबाट स्थापित संस्था सेभेन थ्रीलाई नेपालको प्रतिष्ठित आधिकारिक क्रिकेट प्रतियोगिता सञ्चालनको अधिकार दिने क्यानको निर्णय सुरुदेखि नै विवादमा मुछिएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप)को स्वीकृतिविना नै पहिलो दिनदेखि प्रतियोगितामा विदेशी खेलाडी खेलिरहेका छन् । दुई टिममा त विदेशी खेलाडीले कप्तानीसमेत गरेका छन् । उनीहरुको श्रम स्वीकृतिको प्रक्रिया राखेपबाट अगाडि बढेको छैन ।
आज खेलाडीहरुले पारिश्रमिक नपाएको भन्दै खेल खेल्न अस्वीकार गरेका थिए । क्यानले उनीहरुलाई पारिश्रमिकको ग्यारेन्टी गर्ने बताएपछि २ घण्टा ढिला गरी टस भएको थियो । आज नै प्रतियोगिताको एक फ्रेन्चाइज टिम काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिमका एकजना खेलाडीलाई फिक्सिङको प्रस्ताव आएको खुलासा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्