
काठमाडौं । रसुवागढी नाकाबाट तीन सयभन्दा बढी चिनियाँ सवारी साधन स्वदेश भित्रिएका छन् ।
नेपाली व्यवसायीमार्फत चालू आर्थिक वर्षको गत साउनदेखि हालसम्म विभिन्न प्रकारका ३०५ वटा सवारी साधन रसुवागढीस्थित ल्हेन्दे खोलाको मितेरी पुलबाट स्वदेश भित्रिएका हुन् ।
आयात भएका धेरैजसो सवारी साधन भन्सार प्रक्रिया पूरा गर्न बाँकी रहेका र ती सवारी साधन हाल रसुवागढीनजिक घट्टेखोला तथा टिमुरे क्षेत्रमा राखिएका छन् । सवारी साधनको साथसाथै चालू आर्थिक वर्षको साउनदेखि मंसिरसम्म पाँच महिनाको अवधि तुलनात्मक गर्दा तयारी पोसाकका सामाग्री ६३९, हाइड्रोका सामाग्री ३६६, स्याउ ९३, ओखर ३८, लसुन २२, मोटरका पार्टपुर्जा दुई, इलेक्ट्रिक पार्ट १७ रहेका छन् ।
त्यसैगरी टेलिफोनका सामाग्री ७, नासपाती ११ टिपका साथै काठका तयारी फर्निचरसमेत पाँच ट्रक सामग्री आयात भएका छन् । ती सामाग्री चिनियाँ ठूला टेलरमा नेपाल भित्रिएको र नेपाली कन्टेनर डिब्बामा पल्टी गर्दा लगभग दुई हजार पाँच सय टिपभन्दा बढी रहेको बताइएको छ ।
कोभिड संक्रमण सुरु भएसँगै नेपाल–चीनबीचको ल्हेन्देखोला मितेरीपुलबाट आवतजावत बन्द भए पनि मालसामग्री भने चिनियाँ ठूला टिपरद्वारा चिनियाँ सवारीचालकबाटै नेपाल भित्रँदै आएको छ । केरुङबाट चिनियाँ माल सामग्री रसुवागढीमा ल्याउँदा हरेक पटक रोग निर्मलीकरणसम्बन्धी औषधि छर्किने गरेको सीमा क्षेत्रका सुरक्षाकर्मीले जानकारी दिएका छन् ।
रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीका अनुसार गत साउनदेखि मंसिर महिनासम्म चीनबाट आयात भएका सामाग्रीको मूल्यांकनबाट दुई अर्ब ९० करोड भन्सार शुल्क बापतको राजस्व राज्य कोषमा दाखिला भइसकेको छ । यसैगरी, यही मंसिर १० गतेबाट सुरु भएको निर्यातको कारोबारबाट भने एक करोड ३१ लाखबराबरको माल सामग्री चीनतर्फ गएको प्रमुख भन्सार अधिकृत भण्डारीले बताउनुभयो ।
१० दिनको अन्तरालमा ११ ट्रक माल सामाग्री चीनतर्फ निकासी भएको हो । निकासी सामाग्रीमा बस्नका लागि बाँसका मुडा, तामाका भाँडा, क्युरियो मूर्ति, ज्याकेट, स्वेटर र नेपाली कागजलगायत सामाग्री रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्