२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


गृहमन्त्री लामिछानेको निर्देशन लगत्तै राहदानी विभागको सेवा ठप्प


24.492k
Shares

काठमाडौं । सरकारले अत्यावश्यक पर्नेलाई केन्द्रबाटै छोटो समयमा राहदानी लिन सक्ने व्यवस्था गरेको छ । परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले छोटो समयमा अत्यावश्यक पर्नेहरुको राहदानी बनाउँदै आएको छ । तर, पछिल्लो समय राहदानी बनाउनका लागि सर्वसाधारणको अत्यधिक भीड हुने गरेको छ । सीमित स्रोत साधनका कारण पर्याप्त आवेदन लिन नसक्ने बताउँदै आएको विभागको कमजोरीका कारण सर्वसाधारणले हरेक दिन सास्ती व्यहोर्दै आएका छन् ।

राहदानी विभागमा राहदानी लिनका लागि ठूलो भीड दैनिक रुपमा रहेको हुन्छ । काठमाडौंको त्रिपुरेश्वरमा रहेको राहदानी विभागमा दैनिक देखिने भीड नौलो भने होइन् । अत्यावश्यक भएकाहरुले राहदानी लिनका लागि ठूलै संघर्ष गर्नु परेको छ । विभिन्न जिल्लाबाट आएका सर्वसाधारणले राहदानी लिनका लागि पूरा गर्नुपर्ने विभिन्न प्रक्रिया सेवाग्राहीमैत्री नभएको गुनासो लामो समयदेखि गर्दै आए पनि सरकारले त्यसतर्फ खासै ध्यान दिएको छैन ।

संरचनागत सुधारमाभन्दा पनि सस्तो प्रचारको लागि नवनियुक्त गृहमन्त्री रवि लामिछानेले केही दिनअघि विभागको अनुगमन गर्नुभएको थियो । उहाँले तत्काल सेवा सुधारका लागि सरोकारवाला अधिकारीहरुलाई दिएको निर्देशनले आम नागरिकले अब लाइन बस्न नपर्ने हो कि भन्ने अपेक्षा गरेका थिए । तर, संरचनागत सुधारमा ध्यान नदिँदा विभागको सर्भरमा समस्या आएपछि सेवा सरल र सहज हुनुको सट्टा ठप्प भएको छ ।

विभागको सर्भरमा समस्या आउँदा विभिन्न जिल्लाबाट राहदानी बनाउन आएकाहरुको भने बिचल्ली भएको छ । छोटो समयमा राहदानी लिनुपर्नेहरुलाई पर्याप्त सूचना नहुनु र काम नहुनुको पीडा छुट्टै छ । केन्दले सर्भरमा समस्या भयो भनेर पन्छीनु भन्दा छिटो सेवा सुचारु गर्न राहदानी लिन बस्नेको गुनासो छ । उनको गुनासो कसैले नसुनेको बताउछन् ।

नयाँ सरकार गठन भएलगत्तै प्रधानमन्त्री र मन्त्रीहरुले आम नागरिकको प्रत्यक्ष सरोकार राख्ने विषयमा सुधारको पहल गर्नु सकारात्मक हो । तर नीतिगत सुधार भन्दा आदेशको भरमा सेवा चुस्त बनाउँछु भन्ने मानसिकताले राजनीतिक नेतृत्वलाई कर्मचारी प्रशासनले चुनौति दिएको छ । उपप्रधानमन्त्री लामिछानेले तत्काल सेवा सुधार्न निर्देशन दिएलगत्तै विभागको सेवा ठप्प हुनु आश्चर्यजनक छ । देख्दा प्राविधिक समस्या जस्तो भएपनि यसमा मन्त्री वा तालुकदार निकायले आम नागरिकलाई दिने सेवा प्रभावकारी बनाउन नीतिगत सुधारमा ध्यान नदिँदा समस्या आएको हो । राहदानी बनाउनका लागि रोल्पाबाट काठमाडौं आएका एक सेवाग्राहीको पीडा ठूलो छ । एक महिलासम्म होटलमा बस्दा पनि राहदानी नपाउँदा पैसासँग विदेश जानेबाटो पनि बन्द हुन्छ कि भन्ने डर उनमा रहेको छ ।

यता, विभागले लामो समय कोरोनाका कारण वैदेशिक रोजगारीमा जाने क्रम रोकिएको र अहिले सहज भएपछि त्यसको चाप राहदानी विभागमा परेको बताउँदै आएको छ । विभागका अधिकारीहरुको अभिव्यक्तिले पनि के स्पष्ट हुन्छ भने नीतिगत सुधार र सेवाग्राहीलाई सहज रुपमा सेवा लिने वातावरण बनाउनु जरुरी छ । पछिलो समयमा वैदेशिक रोजगारीमा जानेको संख्या अत्यधिक बढेकाले सेवामा समस्या भएको राहदानी विभागमा प्रवक्ता दूरपदी सापकोटा बताउनुहुन्छ ।

सरकारले आम नागरिकको प्रत्यक्ष सरोकार राख्ने र धेरै सर्वसाधारणको चाप हुने सरकारी निकायमा सेवालाई सहज र सरल बनाउन जरुरी छ । विभागले अनलाइन आवेदनको व्यवस्था गरे पनि सेवाग्राहीले भौतिक रुपमा कार्यालयमा उपस्थित भएर आफ्नो आवेदन फेरि रुजु गराउनु पर्ने लगायतका झण्झटिला प्रावधानका कारण राहदानी विभाग सेवाग्राहीका लागि थप कष्टकर बन्ने गरेको छ ।

अझै दूरदराजबाट आएका सर्वसाधारणले सरकारी निकायबाट पर्याप्त सूचना नपाउँदा बिचौलियाबाट ठगिनेको संख्या उत्तिकै कहालिलाग्दो छ । सरकारले यस्ता समस्या हटाएर सेवालाई सहज बनाउनेतर्फ ध्यान दिन जरुरी छ ।