२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


‘सोलुखुम्बुबाट कारबाहीको लागि कसैको नाम सिफारिस भएको छैन’ : सोलुखुम्बु कांग्रेस


104
Shares

सोलुखुम्बु । जिल्ला अनुशासन समिति सोलुखुम्बुले गत प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा सोलुखुम्बुमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेकालाई हराउन भूमिका खेलेको भन्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य र जिल्ला सभापतिलाई कारबाहीको सिफारिस गरिएको समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

समिति संयोजक गणेशकुमार बस्नेतले विज्ञप्ति जारी गर्दै निर्वाचनमा अन्तरघात भए नभएको विषय छानबिनमै रहेको र कुनैपनि नेताको नाम कारबाहीको लागि प्रदेश र केन्द्रमा सिफारिस नगरेपनि केही नेताको नाम कारबाहीका लागि सिफारिस भएको भन्दै आएका समाचार झुटो भएकोले त्यस्ता, भ्रामक समाचारको पछि नलाग्न आग्रह गर्नुभएको छ ।

‘केही दिन यता विभिन्न सञ्चार माध्यम, सामाजिक सञ्जाल र अनलाइन खबरहरूले नेपाली कांग्रेस सोलुखुम्बुका केही नेताहरूको नाम उल्लेख गरी केन्द्रीय अनुशासन समितिमा उजुरी परेको भनी सम्प्रेषित समाचारप्रति हाम्रो ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा उल्लेख छ ।

अनुशासन समितिले कसैको व्यक्तिगत, राजनीतिक तथा सामाजिक जीवनमा आघात पुग्ने कुनैपनि समाचार सम्प्रेषण नगर्न आग्रह समेत गरेको छ ।

केही दिन अघि एक अनलाइन पोर्टलले कांग्रेस केन्द्रीय कार्यालयलाई उद्धृत गर्दै निर्वाचनमा अन्तरघात गरेकोले कारबाहीको लागि नाम सिफारिस भएको भन्दै केन्द्रीय सदस्य आङगेलु शेर्पा र जिल्ला सभापति नाम्गेलजाङबु शेर्पाको नाम समावेश गरी फोटो सहितको समाचार प्रकाशन गरेको थियो ।

गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसी एमाले उम्मेदवार मानवीर राईसँग पराजित हुनुभएको थियो ।