२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


कृषि योग्य जग्गाको खण्डिकरण नियन्त्रण गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना


455
Shares

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कृषि उत्पादन बढाउनको लागि सरकारले कृषि योग्य जग्गाको खण्डिकरण नियन्त्रण गर्न आवश्यक रहेको बताउनुभएको छ ।

बिहीबार नेपाल कृषि सहकारी केन्दीय संघको वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष तिमिल्सिनाले पछिल्लो समय कृषि योग्य जमिनमा पल्टिङ गरी बस्ति बसाउने क्रम बढेको भन्दै सरकारले कृषि उत्पादन बढाउनको लागि जग्गाको खण्डिकरण गरी कृषियोग्य जमिनमा बस्ति बसाउन नियन्त्रण गर्न आवश्यक रहेको बताउनुभएको हो ।

उहाँले सरकारको पहिलो काम नै कृषि योग्य जमिनको खण्डिकरण नियन्त्रण गर्ने हुनुपर्ने बताउनुभयो । उहाँले कृषि योग्य जमिनमा बस्ति बसाउनेले नेपालको कृषि क्षेत्रको विकास हुन नसकेको दाबी गर्नुभयो ।

अध्यक्ष तिमिल्सिनाले सरकारले स्थानीय नगरपालिका र गाउँपालिकाहरुलाई जग्गाको वर्गिकरण गरेर मात्रै जग्गाको कित्ताकाट गर्न निर्देशन दिएपनि दबाबको कारण काम गर्न नसकेको देखिएको बताउनुभयो । उहाँले सरकारले कृषियोग्य जमिनलाई खण्डिकरण गर्ने नभएर बचाउनु पर्ने बताउनुभयो । उहाँले नेपाल कृषिप्रधान देश भनिए पनि कृषि क्षेत्रमा धेरै पछाडि रहेको उल्लेख गर्नुभयो ।

अध्यक्ष तिमिल्सिनाले नेपाल कृषिप्रधान देश मात्रै नभएर कृषिमा आत्मनिर्भर भएर कृषि निर्यात मुलक देश बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले देशमा ठूला उद्योगधन्दाहरु स्थापना गरेर अन्तर्राष्ट्रिय देशहरुसँग प्रतिष्पर्धा गर्न समस्या रहेको भन्दै देशभित्र कृषि उत्पादनमा वृद्धि गरी विदेश निर्यात गरेर देशको वैदेशिक व्यापार घाटा कम गर्न सकिने बताउनुभयो ।

उहाँले नेपाली माटोमा कृषिको राम्रो उत्पादन गरियो भने अग्र्यानिक कृषि उत्पादनलाई विदेशमा निर्यात गरेर मुलुकको अर्थतन्त्रलाई माथि ल्याउन सकिने बताउनुभयो । उहाँले कृषि क्षेत्रमा सहकारीमार्फत उत्पादन, बजार व्यवस्थापन र ढुवानी समेत गरेर सहुलियत मूल्यमा उपभोक्ताले पाउने तथा रोजागारी समेत सिर्जना हुने बताउनुभयो ।

अध्यक्ष तिमिल्सिनाले कृषि क्षेत्रमा रहेका कानूनहरु कृषि उत्पादनमा बाधक भए कानून संशोधन गरेर किसानमुखी कानून बनाउनुपर्ने बताउनुभयो । उहाँले किसानमुखी कानून भए मात्रै किसानहरुको हीत हुने दाबी गर्नुभयो । उहाँले नेपाली माटोमा उत्पादन भएका अग्र्यानिक वस्तु प्रशोधन गरेर बेच्नसके दुनियाका जुनसुकै देशले किन्न सक्ने बताउनुभयो ।

उहाँले नेपाली कृषि उत्पादनलाई अब अन्तर्राष्ट्रिय बजारमा समेत निर्यात गर्न सक्ने गरी उत्पादनमा वृद्धि गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले नेपाली उत्पादनहरुलाई अन्य देशले आफ्नो देशमा उत्पादन भएको भनेर कपि राइट गरेको हुन सक्ने भन्दै अब नेपाली उत्पादनलाई नेपालमा नै उत्पादन भएको भनेर दर्ता गर्न आवश्यक रहेको बताउनुभयो ।