
सिन्धुली । सिन्धुलीको गोलञ्जोर गाउँपालिका-५ हिर्दिङका ७० वर्षीय लोकबहादुर बानियाँ क्षेत्री यस क्षेत्रकै सफल मुढा उद्यमी बन्नुभएकाे छ ।
क्षेत्रीले मुढा बन्न थालेको ३२ वर्ष भएको छ । । क्षेत्रीले अहिले आफ्नै घरमै आधुनिक लोक मुढा उद्योग सञ्चालन गर्नुभएकाे छ । क्षेत्री मुढा उद्यमी मात्र नभएर कुशल मुढा प्रशिक्षक पनि हुनुहुन्छ । घरेलु तथा साना उद्योग विकास कार्यालय सिन्धुलीले उहाँलाई प्रशिक्षकको रुपमा समेत परिचालन गरिरहेको छ । घर गाउँमै रहेका बाँसजन्य सामग्रीको प्रयोग गरेर उहाँले मुढा बनाएर गाउँघरमै बेचेर झण्डै मासिक ३० देखि ३५ हजारसम्म आम्दानी गर्नुहुन्छ ।
बास र प्लाष्टिकको डोरी प्रयोग गरेर क्षेत्रीले मुढा लगायतका अन्य सामग्री समेत बनाउनु भएकाे छ । क्षेत्रीले प्लाष्टिकको डोरी भारतको दिल्लीबाट ल्याउने गर्नुहुन्छ । बाँस गाउमै पाइन्छ । मुढा, डाइनिङ सेट मुढा, टोकरी र बास्केट जस्ता सामग्री विशेष गरी उहाँले बनाउदै आएकाे बताउनुहुन्छ । उहाँ युवा उमेरमा धन कमाउन, परिवार पाल्न भारतको नागाल्याण्ड समेत जानु भएकाे थियाे । नागाल्याण्डमा स्टेट पुलिसको जागिर २१ वर्ष खाएपछि अवकाश पाउनुभएकाे थियाे ।
क्षेत्रीको सिपलाई घरेलु तथा साना उद्योग विकास कार्यालय सिन्धुलीले प्रवर्द्धन गरी प्रमाणित प्रशिक्षक बनाएकाे हाे । अहिले प्रशिक्षकका रुपमा क्षेत्री धेरै जिल्लामा पुग्नु भएकाे छ । क्षेत्रीले करिब ४ सय जनालाई मुढा बुन्ने सिप सिकाइसक्नु भएकाे छ ।
तालिम दिने सिलसिलामा उहाँ सिन्धुली जिल्ला बाहेक पर्वत, गुल्मी, म्याग्दी, मुस्ताङ, तनहुँ लगायतका जिल्लामा पुग्नुभएकाे छ ।
एउटा ठूलो मुढा बुन्न उहाँलाई २ दिन लाग्छ र सानो मुढा बुन्न १३ घण्टा लाग्छ । ४ वटा मुढासहितको डाइनिङ सेट बनाउन १० दिन लाग्छ । बास्केट र टोकरी भने एकै दिनमा बुन्न सकिने उहााको भनाई छ । क्षेत्रीले बनाएका सामग्रीको मूल्य पनि निर्धारित छ । क्षेत्रीले मुढाको डाइनिङ सेट १७ हजार ५ सय, सानो मुढा ९ सय, ठूलो मुढा १२ सय, बास्केट र टोकरीलाई ९ सयमा बेच्नुहुन्छ ।
उहाँको ७ जनाको परिवार छ ।छोराले दूध डेरीमा काम गर्छन, श्रीमती-बुहारी खेतीपाती र वस्तुभाउका साथै घर व्यवहार चलाउछन्। २ जना नाति र १ जना नातीनी विद्यलयमा पढ्छन । क्षेत्रीको परिवार सुखी र खुशी रहेकाे छ। घरेलु तथा साना उद्योग विकास समिति सिन्धुलीका सूचना अधिकारी माधव बगालेले क्षेत्री जिल्लाकै कुशल प्रशिक्षक रहेको र वृद्ध अवस्थाम समेत उर्जाशिल उद्यमी रहेको बताउनुभयाे ।
प्रतिक्रिया दिनुहोस्