
सिन्धुली । सिन्धुलीको कमलाखोंचका दनुवार समुदायले लोपउन्मुख दनुवार नाचलाई संरक्षण गर्नका लागि अभियान सुरू गरेका छन् ।
दनुवार समुदायले यस नाचलाई सार्वजनिक समारोहरुमा समेत प्रदर्शन गराउने अभियानको थालनी गरेका हुन् । पछिल्लो समयमा आधुनिक कला, संगीत र संस्कृतिले ग्रामीण क्षेत्रमा युवा-युवतीहरुमा समेत असर पारिरहेको समयमा सिन्धुलीको कमलाखोंच क्षेत्रमा दनुवार नाच संस्कृतिको संरक्षण अभियानको थालनी गरिएको हो ।
दनुवार नाचमा ५ जनादेखि १० जनाको महिला र पुरुषको समूहले झ्याली, मर्धुम, झ्याम्टा बजाएर गीत गाउँदै घुमेर नाच्ने प्रचलन रहेको छ । लोक संस्कृति र रोमाञ्चक विषय वस्तुहरुलाई ताल मिलाएर घुमेर नाच्ने दनुवार नाच हेर्न र अवलोकन गर्नका लागि बुढापाका र युवा-युवतीहरुको समेत भीड लाग्ने गरेको छ ।
परम्परागत दनुवार नाचलाई जगेर्ना गरी जीवन्त राख्ने अभियान अन्तर्गत सिन्धुलीका पुराना पीढीहरुले सरकारी तथा सार्वजनिक कार्यक्रमहरुमा दनुवार नाचलाई स्थान दिन थालेका छन् । सिन्धुलीको दुधौली र कमलामाई नगरपालिकाको कमलाखोंच क्षेत्रमा दनुवार समुदायको बाक्लो बसोवास रहेकाे छ ।
प्रतिक्रिया दिनुहोस्