१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दक्ष राजदूत नियुक्तिमा ध्यान दिन सरकारलाई परराष्ट्रविद् आचार्यको सुझाव


52
Shares

काठमाडौं । परराष्ट्रविद् मधुरमण आचार्यले आर्थिक कूटनीतिका लागि दक्ष राजदूतको नियुक्तिमा ध्यान दिन सरकारलाई सुझाव दिनुभएको छ ।

आर्थिक कूटनीतिमा मुलुकपछि परिरहँदा पूर्वपरराष्ट्र सचिव समेत रहनुभएका उहाँले मुलुकको आर्थिक कूटनीतिलाई अघि बढाउन सरकारले दक्ष राजदूत नियुक्तीमा ध्यान दिनुपर्ने बताउनुभयो ।

राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको शुक्रबार सिंहदरवारमा बसेको बैठकमा बोल्दै परराष्ट्रविद् आचार्यले आर्थिक र कूटनीति दुवै थाहा नभएकालाई सरकारले राजदूत बनाएर पठाएका कारण मुलुकको आर्थिक कूटनीतिक फलदायी हुन नसकेको पनि स्पष्ट पार्नुभयो । उहाँले आर्थिक कूटनीति कार्यान्वयनका लागि नीतिगत रुपमा स्पष्ट धारणा तय गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराउनुभयो ।

मुलुकमा लगानी भित्र्याउनका लागि लगानी बोर्डले कामै गर्न नसकेको समेत परराष्ट्रविद् आचार्यको भनाई थियो । उहाँले मुलुकको आर्थिक विकासका लागि भारत र चीन दुवै मुलुकबाट लगानी भित्र्याउन सरकारले जोड दिनुपर्ने आवश्यक्ता समेत औंल्याउनुभयो ।

परराष्ट्रविद् आचार्यले आर्थिक कूटनीतिका लागि निजी क्षेत्रको नेतृत्वदायी भूमिका स्थापित गराउन पनि आवश्यक रहेको बताउनुभयो । बैठकका विमला राई पौडेललगायतका सांसदहरुले आर्थिक कूटनीतिलाई अघि बढाउन अन्तर्राष्ट्रिय अनुभवबारे परराष्ट्रविद् आचार्यसँग जिज्ञासा राख्नु भएको थियो ।