१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


गाँजा खेती गर्नेमाथि प्रहरीले बढायाे निगरानी


65
Shares

सर्लाही । सर्लाहीको चुरे क्षेत्रमा यस वर्ष पनि गाँजा खेती मौलाएको छ । चुरे क्षेत्रमा व्यावसायिक रूपमा गाँजा खेती भइरहेको हो ।

गाँजा पाकेर भित्र्याउने बेलामा भने प्रहरीले फाँड्न थालेको छ । सिन्धुलीसँगै सीमा जोडिएका ती बस्तीहरू जिल्लामा अति दुर्गम मानिन्छन ।

विकट भएकाले पनि स्थानीयले ढुक्क भएर गाँजा खेती गर्दै आएका हुन । कतिपय व्यापारीकै लगानीमा पनि यहाँ गाँजा खेती हुने गरेको छ ।

गाँजा खेतीमा प्रतिबन्ध लगाइए पनि अन्य बालीको तुलनामा राम्रो आम्दानी हुने भएकाले यो खेतीतर्फ आकर्षित भएको स्थानीयको भनाइ छ ।

बेलैमा प्रहरीले आवश्यक कदम नचाल्दा गाँजा खेती मौलाएको बताइएकाे छ । जानकारका अनुसार लागूऔषधको रूपमा रहेको गाँजा व्यापारीले किसानको जग्गा ठेक्कामा लिएर पनि लगाउने गरेका छन । प्रहरी प्रशासनको कमजोर उपस्थितिको फाइदा उठाउँदै गाँजा खेती हुने गरेको हो ।

यस क्षेत्रको गाँजा जिल्लाको ग्रामीण सडक हुँदै भारतसम्म पुर्‍याउने गरिएको छ । प्रहरीले बेलाबखत त्यस्ता गाँजा बरामदसमेत गर्ने गरेको छ ।

चार वर्षअघि नारायण खोलामा गाँजा प्रशोधन केन्द्रसमेत प्रहरीले फेला पारेको थियो । त्यहाँ ठूलो मात्रामा गाँजा पनि बरामद भएको थियो ।

यस वर्ष पनि प्रशोधन केन्द्रको खोजतलास भइरहेको छ । आइतबारदेखि गाँजा नष्ट गर्न अभियान थालेको सर्लाहीका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए ।

उक्त दिन लालबन्दी नगरपालिका–१४ नारायणखोलास्थित ८ विगहामा लगाइएको गाँजा नष्ट गरेको प्रहरीले अहिलेसम्म ३० विगहामा लगाएको गाँजा फडानी गरेको छ ।

‘कानुनले बन्देज लगाएको गाँजा खेती अभियानकै रूपमा निस्तेज पार्नेछौं,’ सुवेदीले भन्नुभयाे । चुरेभेगका अन्य क्षेत्रमा पनि गाँजा खेती भइरहेको सूचना आइरहेकाले क्रमैसँग नष्ट गरिने उहाँले बताउनु भयाे ।

उनका अनुसार हरिवन, लालबन्दी र ईश्वरपुरको चुरे बस्तीका अधिकांश खेतबारीमा गाँजा खेती हुने गरेको छ । यो क्षेत्रका कतिपय स्थानमा बाहिर मकै बाली लगाएर भित्र गाँजा खेती पनि गर्ने गरिएको छ ।