२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सरकारले व्यवसायीको मनोबल उच्च बनाउने निर्णय गरे तत्काल अर्थतन्त्र लयमा आउँछ : अध्यक्ष अग्रवाल


26
Shares

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले वर्तमान सरकारले उद्योगी व्यवसायीहरुको मनोबल उच्च बनाउने निर्णय गरे तत्काल अर्थतन्त्र लयमा आउने बताउनुभएको छ ।

पछिल्लो समय उद्योगी व्यवसायीहरुको मनोबल कमजोर भएकाले उद्योग व्यवसायमा संकुचन आएको भन्दै अध्यक्ष अग्रवालले वर्तमान सरकारले उद्योगी व्यवसायीहरुको मनोबल उच्च बनाउने गरी निर्णय गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले वर्तमान सरकार गठन भएसँगै नेपाली पुँजी बजारमा अर्थतन्त्रका कुनै पनि प्यारामिटरहरु परिवर्तन वा सरकार नयाँ कुनै निर्णय बिना उच्च मनोबलको कारण लगातार रुपमा वृद्धि भइरहेको बताउनुभयो ।

अध्यक्ष अग्रवालले सरकारले बैंकको ब्याजदर कम गर्ने, तरलता सहज ल्याउने र एलसी मार्जिन कम गर्ने निर्णय गरे व्यवसायीहरुको मनोबल सकारात्मक हुने बताउनुभयो । उहाँले पछिल्लो समय अर्थतन्त्रमा देखिएका समस्या उद्योगी व्यवसायीहरुको मनोबल कमजोर भएको कारण भएको दाबी गर्नुभयो ।

उहाँले प्रधानमन्त्री तथा अर्थमन्त्रीलाई भेटेर अर्थतन्त्र लयमा ल्याउन सरकारले चाल्नुपर्ने कदमको विषयमा जानकारी गएको बताउनुभयो । उहाँले उद्योग परिसंघका माग र दिएका सुझावलाई सरकारले तत्काल सम्बोधन गरे मुलुकको अर्थतन्त्र लयमा आउने समय न लाग्ने बताउनुभयो । उहाँले सरकारले उद्योगी व्यवसायीहरुको मनोवल उच्च हुने खालको नीतिगत व्यवस्था ग¥यो भने व्यवसायी र अर्थतन्त्र दुवै सकारात्मक बाटोमा जाने उल्लेख गर्नुभयो । उहाँले मुलुकमा जुनसुकै सरकार आएपनि व्यवसायीहरुको मनोबल उच्च राख्न आवश्यक रहेको बताउनुभयो । अर्थतन्त्र लयमा आउँदा उच्च रुपमा गिरावट आएको माग बढ्ने र उद्योग व्यवसायमा लगानी पनि बढ्ने बताउनुभयो ।

अध्यक्ष अग्रवालले वर्तमान सरकारले अर्थतन्त्रमा देखिएका समस्यालाई समाधान गर्दै व्यापार व्यवसायमा आएको गिरावटलाई कम गर्न सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले पछिल्लो समय मागमा संकुचन हुनु आर्थिक वर्षको पाँच महिना गत वर्षको सोही अवधिको तुलनामा राजश्व संकलनमा २० प्रतिशत संंकुचन हुनु प्रमुख कारण भएको बताउनुभयो । उहाँले शेयर बजार, घरजग्गाको कारोबार गिरावटको कारण सबै क्षेत्रको मागमा संकुचन आएको बताउनुभयो ।