
काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई आफ्नो पार्टीले प्रधानमन्त्रीका लागि प्रस्ताव नगरेको बताउनुभएको छ ।
शुक्रबार नयाँबानेश्वरस्थित संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा प्रमुख सचेतक लेखकले प्रधानमन्त्रीमा राप्रपालाई आफ्नो पार्टीले प्रस्ताव नगरेको प्रष्ट्याउनु भएको हो ।
उहाँले आफ्नो पार्टी एमाले–माओवादी केन्द्रसहितको सत्ता समिकरणलाई भत्काएर नयाँ समिकरण बनाउने काममा नलागेको पनि पटकपटक दोहोर्याउनुभयो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने बारेमा भने यही पुस २६ गते बिहान बस्ने पार्टी संसदीय दलको बैठकले निर्णय गर्ने जानकारी समेत दिनुभयो ।
आफूहरु अहिले पार्टी संसदीय दलको शनिबार बिहान बोलाइएको बैठकको गृहकार्यमा जुटेको उहाँको भनाई थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले यही पुस २६ गते बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिनु हुने छ । कांग्रेस प्रमुख सचेतक लेखकले प्रधानमन्त्री दाहालले विश्वासको मत लिने पत्र आफ्नो दलमा पनि आएको र त्यसका लागि आन्तरिक छलफल सुरु गरिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्