२६ चैत्र २०८१, मंगलबार | Wed Apr 9 2025


सिन्धुलीमा युट्युबबाट शिक्षण सिकाईकाे सुरूवात


169
Shares

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकाले युट्युबको माध्यमबाट विद्यार्थीहरूलाई सिकाईको सुरुवात गरेको छ ।

नगरपालिकाले शिक्षण विधिलाई प्रविधिमैत्री बनाउने उदेश्यले युट्युबको माध्यमबाटबाट विद्यार्थीहरूलाई सिकाईको सुरुवात गरेकाे हाे । दक्षिण कोरियाको छिन्चु विश्वविद्यालयका प्राध्यापकहरुले उपकरण सहयोग गरेपछि शिक्षकहरुलाई तालिम दिएर शिक्षण विधिलाई युट्युबको माध्यमबाट पठन–पाठनको थालनी गरेको कमलामाई नगरपालिकाले जनाएको छ ।

शिक्षकले विद्यार्थीहरुलाई दिने शिक्षण विधिलाई प्रविधिमैत्री बनाउन युट्युबको माध्यम सहयोगी हुने ठानेर नगरपालिकाको शिक्षा शाखामा अत्याधुनिक स्टुडियो तयार गरेर विज्ञान, गणित र अंग्रेजी विषयको पढाईलाई रेकर्ड गरी विद्यालय तथा घरमै बसेर युट्युबको माध्यमबाट विद्यार्थीहरुले अध्ययन गर्न सक्ने कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्र पोखरेलले बताउनुभयाे।

सोही प्रयोजनका लागि दक्षिण कोरियाका छिन्चु विश्वविद्यालयका प्राध्यापक योङ कि होङको नेतृत्वको टोलीले युट्युब स्टुडियोको लागि ३६ लाख बराबरको भिडियाे रेकर्डर, ल्यापटप, लाइट सिस्टम, सफ्टवेयर, दृश्यसम्पादन र स्टोरेज मेमोरी लगायतका सामग्री उपलब्ध गराउनुभएको हो । गुणस्तरीय शिक्षाका लागि शिक्षण सिकाईलाई प्रविधिमैत्री बनाउन युट्युब स्टुडियाेको सामग्री सहयोग गरेको प्राध्यापक होङले बताउनुभयो ।

दक्षिण कोरियाको शिक्षण सिकाई विधिलाई कमलामाईका विद्यालयमा भित्राउने र यहाँको उत्कृष्ट सिकाइलाई आफ्नो देशमा प्रयोग गर्ने लक्ष्यका साथ दक्षिण कोरियाको एनएस डेविलका समूहका १४ जना विद्यार्थीहरु शिक्षण सिकाईका लागि कमलामाई नगरपालिकामा आएका छन् ।

युट्युबको माध्यमबाट विद्यालयमा पठन-पाठन गराउन पहिलो चरणमा कमला, गौमती र सिद्धबाबा माविका ९ जना शिक्षकहरुलाई ३ दिनको तालिम प्रदान गरिने भएकाे छ ।