
काठमाडौं । नेपालमा शनिबारदेखि चरा गणना सुरू भएको छ ।
राष्ट्रिय निकुञ्ज विभागको नेतृत्वमा हिमालयन नेचरले सबै राष्ट्रिय निकुञ्ज, सिमसार क्षेत्र र जलाशयमा चरा गणना गर्न सुरू गरेको हो ।
गणनामा तीन सय ५० जना चरा विज्ञ र संरक्षणकर्मीको सहभागिता रहेको चरा गणनाका राष्ट्रिय संयोजक डा.हेमसागर बरालले जानकारी दिनुभयो । संयोजक बरालका अनुसार तीन हप्ता चरा गणनाको काम हुनेछ । गणनाको क्षेत्र विस्तार हुँदै जाँदा पनि चराको संख्या बर्सेनि घट्दै जानु चिन्ताको विषय भएको बरालको भनाई छ ।
चराको गुणस्तर बासस्थानको अभाव, बासस्थान क्षेत्रमा भइरहेका विकास निर्माण, खेती बालीमा बढ्दो विषादीको प्रयोग र मानवीय क्रियाकलापले चराको संख्या बर्सेनि घट्दै गएको उहाँको भनाइ छ । हरेक क्षेत्रमा जस्तै जलवायु परिवर्तको प्रभाव पनि चराको बासस्थानमा परेको डा.बरालले बताउनुभयो ।
पश्चिम सेक्टर अन्तर्गत लोथर पुलदेखि कसरा पुलसम्म चराको गणना हुनेछ । जसमा चराको मुख्य बासस्थान रहेको ढुङ्ग्री खोला, बूढीराप्ती खोला, लामी ताल, तमोर ताल, बरुण ताल, बिसहजारी ताल र राइनो तालमा चराको गणना गरिनेछ ।
यस्तै चितवन राष्ट्रिय निकुञ्जको नवलपुर क्षेत्रमा छुट्टै समूहमार्फत चरा गणना गरिनेछ । पछिल्लो तथ्याङ्कअनुसार नेपालमा आठ सय ९२ प्रजातिका चरा छन् । जसमा दुई सय चरा पानीमा आश्रित छन् ।
प्रतिक्रिया दिनुहोस्