
काठमाडौं । सर्वोच्च अदालत बार एसाेसिएशनको ३४ औँ नयाँ कार्यसमिति चयनका लागि शनिबार बिहान ८ बजेदेखि मतदान सुरू भएकाे छ ।
प्रमुख निर्वाचन अधिकृत मुकुन्दप्रसाद पौडेलका अनुसार नयाँ कार्यसमिति चयनका लागि जारी मतदान शनिबार ३ बजेसम्म चल्ने भएकाे छ । मतदान सम्पन्न भएपछि मतगणना प्रारम्भ गरिने पौडेलले जानकारी दिनुभयो । नयाँ कार्यसमितिको लागि सत्ता र विपक्षी दलनिकट कानून व्यवसायीबीच समूहगत रूपमा प्रतिस्पर्धी मैदानमा रहेका छन् ।
निर्वाचनमा बृहत लोकतान्त्रिक र प्रगतिशील,पेसागत तथा गणतान्त्रिक समूह बनाएर चुनावी मैदानमा उत्रिएका हुन् । लोकतान्त्रिक समूहबाट अध्यक्षमा वरिष्ठ अधिवक्ता हरिशंकर निरौलाले उम्मेदवारी दिनुभएको छ । प्रगतिशीलबाट वरिष्ठ अधिवक्ता तुलसी भट्टले अध्यक्षमा उम्मेदवारी दिनुभएको छ । एक उपाध्यक्षमा लोकतान्त्रिकबाट जगदिशप्रसाद पाण्डे र प्रगतिशीलबाट रामकृष्ण काफ्ले उम्मेदवार रहेका छन् ।
सचिवमा लोकतान्त्रिकबाट कल्याण पोखरेल र प्रगतिशीलबाट श्यामकुमार खत्री प्रतिस्पर्धामा रहेका छन् । सहसचिवमा लोकतान्त्रिकबाट सुजन लोप्चन र प्रगतिशीलबाट सजिता शाक्य उम्मेदवार रहेका छन् । एक कोषाध्यक्ष पदका लागि लोकतान्त्रिकबाट रामचन्द्र पौडेल र प्रगतिशीलबाट कपिलचन्द्र पोखरेल प्रतिस्पर्धामा रहेका छन् ।
एक महिला सदस्यका लागि लोकतान्त्रिकबाट कमला रोका गिरी र प्रगतिशीलबाट सिर्जना कँडेल उम्मेदवार रहेका छन् । निर्वाचनबाट चयन हुने ५ जना पदाधिकारी र १० सदस्य गरी १५ जनाको नयाँ कार्यसमितिको कार्यकाल २ वर्ष हुनेछ । सर्वोच्च बारमा ६ सय २१ मतदाता रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्