
एजेन्सी । भारतीय फिल्म निर्देशक रोहित शेट्टी शनिबार वेब सिरिज छायांकनको क्रममा घाइते भएका छन् ।
हैदराबादको प्रसिद्ध रामोजी फिल्म सिटीमा उनी आफ्नो वेब सिरिज ‘इन्डियन पुलिस फोर्स’को छायांकन गरिरहेका थिए । कार सिक्वेन्सको छायांकनका क्रममा उनको हातमा चोट लागेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
निर्माण टिमले उनलाई हैदराबादको कमिनेनी अस्पतालमा भर्ना गरेको थियो । पछि चिकित्सकको टोलीले उनको हातको सानो शल्यक्रिया गरेको थियो ।
यसबारे रोहित शेट्टीका प्रवक्ताले आधिकारिक बयान जारी गर्दै भनेका छन्, ‘रोहित शुक्रबार राति आफ्नो आगामी वेब ‘सिरिज इन्डियन पुलिस फोर्स’को एक्सन दृश्य (सीन) छायांकन गरिरहेका थिए । यस क्रममा उनको औँलामा सामान्य चोट लागेको छ । चोटको तत्काल उपचार गरेपछि उनले फेरि छायांकन सुरु गरेका छन् ।’
‘इंडियन पुलिस फोर्स’ रोहितद्वारा निर्देशित एक मेगा बजेट वेबसिरिज हो । उनले पहिलो पटक वेब सिरिज निर्देशन गर्दैछन् । यस सिरिजमा सिद्धार्थ मल्होत्रा, शिल्पा शेट्टी र विवेक ओबेरोयको अभिनय रहेको छ ।
यो ओटीटी प्लेटफर्म अमेजन प्राइममा प्रदर्शन हुनेछ ।
प्रतिक्रिया दिनुहोस्