
सिन्धुली । सिन्धुलीमा खानेपानीका मुहान तथा भौतिक संरचनाहरुको सर्वपक्षीय उपभोक्ताहरुले अनुगमन गरेका छन्।
शुद्ध पिउने पानीलाई व्यवस्थित गर्ने उदेश्यले सिद्धेश्वर खानेपानी उपभोक्ता संस्थाले गडौली (ठूलीटार) मा बन्दै गरेको आयोजना,मिलनचोकमा बन्दै गरेकाे आयोजना, कात्तिकेमा रहेको नयाँ आयोजना तथा पुराना आयोजना, हिरापानीमा निर्माण गरिएको आयोजना र भद्रकालीको फेदीमा रहेको पानीको मुहान समेतको सर्वपक्षीय अनुगमन गरेकाे हो ।
सोही संस्थाका अध्यक्ष महेन्द्रदेव श्रेष्ठ, संस्थाका पदाधिकारी, सदस्य, पत्रकार, राजनीतिक दलका जनप्रतिनिधि, खानेपानी आयोजनाका उपभोक्ता, विभिन्न सरोकारवालाहरुलाई खानेपानीको अवस्था, मुहानको अवस्था र प्रगतिको अनुगमन गराएको हो । अनुगमनका क्रममा मुहानको सरसफाई, फिल्टर ट्यांकीको अवस्था, मुहानको सरसफाई तथा अवस्थाको बारेमा प्रत्यक्ष रुपमा अवलोकन र जानकारी गराईएको थियो ।
साेही संस्थाले सदरमुकाम सिन्धुलीमाडीमा ५ वटा मुहानबाट खानेपानी वितरण गरिरहेको छ । २ वटा मुहान र आयोजनाको खानेपानी करिब ६ महिनाभित्र सञ्चालनमा आउने तयारी रहेको संस्थाका अध्यक्ष महेन्द्रदेव श्रेष्ठले बताउनुभयाे। उहाँका अनुसार कमलामाई नगरपालिकाका ४, ५, ६ र ७ का करिब ३५ हजार नागरिकले सिद्धेश्वर खानेपानी उपभोक्ता संस्थाले वितरण गरेको खानेपानी खाँदै आएका छन्।
बागमती प्रदेश सरकारको २१ करोड लगानीमा बन्दै गरेको गडौली (ठूलीटार) र मिलनचोकको आयोजना सम्पन्न हुँदा थप २ हजार धारामा खानेपानी वितरण गर्न सकिने अध्यक्ष श्रेष्ठले बताउनुभयाे । अहिले निर्माण हुँदै गरेका योजना सम्पन्न हुन ६ महिना लाग्ने र ८० प्रतिशत काम सकिएकाले सिन्धुलीमाढीमा पानीको समस्या समाधान हुने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्