
बझाङ । बझाङकाे धार्मिक तथा पर्यटकीय स्थल तपोवनमा स्नान गरे बापत पालिकालाई कर तिर्नुपर्ने भएको छ ।
तलकोट गाउँपालिकाको हिउँदे अधिवेशन गाउँसभाको निर्णयले तपोवनमा स्नान गरे बापत कर उठाउने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष कलकबहादुर रोकायाले बताउनुभएकाे हाे । आगामी माघ १ गतेदेखि कार्यान्वयनमा ल्याउने गरी निर्णय गरेको उहाँले बताउनुभयाे । तपोवन तलकोट गाउँपालिका-१ मा पर्छ । वडाले र यहाँ स्थानीय वासीन्दाको माग अनुसार पालिकाले निर्णय गरेको उहाँको भनाइ छ ।
साेही धार्मिक तथा पर्यटकीय क्षेत्रमा स्नान गरेबापत पालिकाभित्रको प्रत्येक ब्याक्तिले २० रुपैयाँ, पालिका भन्दा बाहिर बझाङ जिल्लाभित्रको ब्याक्तीले प्रतिब्याक्ति ५० रुपैया र बझाङ जिल्ला भन्दा बाहिर अन्य जिल्लाको नागरिकले प्रतिब्याक्ति १ सय रूपैयाँ र विदेशी नागरिकले प्रतिब्याक्ति ५ सय रूपैयाँ कर तिर्नुपर्ने गाउँसभाले निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिद्धराज भण्डारीले बताउनुभयो । उक्त निर्णय माघ १ गतेदेखि लागू गरिने भएकाे छ । बाहिरबाट आएका नागरिकहरुले स्नान गर्दा फोहोर गर्ने गरेको र यसरी कर उठाएपछि फोहोरलाई पनि पालिकाले ब्यवस्थापन गर्नेछ ।
देशकै पर्यटकीय स्थलका रुपमा परिचित गराउने उदेश्यले स्थानीय सरकारदेखि प्रदेश सरकारले समेत यस क्षेत्रमा लगानी गरेको पाइन्छ । बझाङको तलकोट गाउँपालिका वडा नम्बर १ सुनिकोटमा रहेको जिल्लाकै प्रसिद्ध एवं धार्मिक पर्यटकीय क्षेत्रका रुपमा चिरपरिचित तपोवनमा लगाएको लगानी बालुवा पानी सरह बनेको छ । तत्काली गाविस, जिविस हुँदा देखि अहिले स्थानीय तह, प्रदेश र संघीय सरकार हुँदासम्मको लगानीको प्रतिफल प्राप्त नभएको पाइएको हो ।
आर्थिक वर्ष २०७६/०७७ मा डिभिजन वन कार्यालय बझाङको समन्वयमा सुदूरपश्चिम प्रदेश सरकारको पर्यटन विकास मन्त्रालय मार्फत ६० लाख बजेट विनियोजन गरेको थियो । उक्त ठेक्का घटी घटाउमा ३० लाखमा जयलक्ष्मि निर्माण सेवाले पायो । ठेक्का कम्पनीले काम सुरु गरेर सम्पन्न गरेकाे थियाे । सेती नदीको किनारमा तातो पानीका ज्वाला छन् । उक्त पानीका ज्वालालाई एकीतृत गरेर मोटर जडान गरी सोलार सिस्टमबाट माथि निर्माण गरिएको पोखरीमा तान्ने योजना थियो । सोही योजना अनुसार मोटर जडान गरी २ दिन पानी तानियो । तर साेही काम दिगो भने भएन । अहिले उक्त लगानी बालुवामा पानी खनाए सरह भएको छ ।
ठेकदार कम्पनीका प्रमुख चक्रबहादुर बोहराले भन्नुभयाे,-‘तातोपानी मोटर जडान गरी निर्माण गरीएको पोखरीसम्म पानी तानेको पनि हो । पानी तानेको ३-४ दिनपछि लगातारको वर्षाका कारणले सेति नदीमा बाढी आएर गरेका धेरै कामहरु बाढीले बगायो । प्रमुख जिल्ला अधिकारी लगायत जिल्लास्थित कार्यलयका प्रमुखसहितको टोली गएर उक्त कार्यक्रमको उद्घाटन समेत गरेको थियाे । तर अहिले सबै लगानी गरिएको भएपनि सोलारका पाताहरु अज्ञात ब्याक्तिले तोड्फोड गरेको छ ।’ ठेगदार कम्पनीका प्रमुख बोहराले काम सम्पन्न गरेको र पानी तान्ने मोटर पनि जडान गरेको भने पनि यहाँका स्थानीयले भने मोटर जडान नगरेको आरोप लगाउनुभयाे ।
हालसम्म स्थानीय सरकारदेखि प्रदेश सरकारले झण्डै २ करोड भन्दा बढी लगानी यस क्षेत्रमा गरेको पाइन्छ । भौतिक संरचना पनि निर्माण भएका छन् । तर ज्वालाको सरक्षण र लक्ष्य अनुसार काम नभएको स्थानीय वासी कुबेरबहादुर थापाले बताउनुभयाे । भन्नुभयाे,-‘तत्कालीन गाविस हुँदा नै जिल्ला विकास समितिबाट ५ लाख बजेट विनियोजन भएको थियो । यस्तै स्थानीय सरकार बनेपछि २०७४ साल पछि ५० लाख २० लाख , १५ लाख संघबाट प्रदेश पर्यटन विकास मन्त्रालयबाट ६० लाख आएको आफूलाई जानकारी पाएकाे छु।’
तपोवनमा विवाह व्रत बन्ध, काज किरिया हुने गर्छन् । ठाउँ-ठाउँमा तातोपानीका ज्वालाहरु रहेको यस तातोपानीमा नुहाउदा चर्म रोग, बाथ रोग तथा अन्य छाला सम्बन्धि रोगहरु निको हुने विश्वास छ । यहाँ व्रत बसेर पूजापाठ गर्दा मनले चिताएको समेत पूरा हुने धार्मिक विश्वास रही आएको छ । तर यसको क्षेत्रको संरक्षण र प्रचारप्रसार भने हुन नसकेको हाे । यसरी स्थानीय सरकार तथा प्रदेश सरकारले लगाएको लगानी वर्षै पिक्षे गर्दै जाने तर प्रतिफल नआउने हो भने लगानी लगाउनुको कुनै अर्थ नहुने यहाँका जानकारहरू बताउँछन् ।
अब पालिकाले कर उठाएपछि लगानी गर्ने र यसको संरक्षण गर्ने लक्ष्यका साथ पालिका अघि बढेको छ ।
प्रतिक्रिया दिनुहोस्