
काठमाडौं । नेपाल समाजवादी पार्टीले नेकपा (माओवादी केन्द्र)सँग एकता गर्नका लागि वार्ता समिति बनाउने भएको छ ।
नेपाल समाजवादी पार्टीको राजनीतिक समितिको बैठक पार्टी केन्द्रिय कार्यालयमा आइतबारदेखि सुरु भएको छ ।
बैठकमा पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईले ‘समाजवादी ध्रुवीकरण आजको आवश्यकता’ नाम दिइएको राजनीतिक प्रतिवेदन पेस गर्नुभएको छ ।
डा. भट्टराईले पेस गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि छलफल प्रारम्भ भएको नेसपाका सह-अध्यक्ष गंगानारायण श्रेष्ठले जानकारी दिनुभयो । उहाँले बैठकले नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता गर्नका लागि वार्ता समिति बनाउने बताउनुभयो । सो समितिलाई माओवादी केन्द्र लगायतका अन्य पार्टीहरुसँग पनि एकता तथा ध्रुवीकरण गर्नका लागि छलफल र प्रयास गर्न अधिकार दिइने उहाँले स्पष्ट पार्नुभयो ।
अध्यक्ष भट्टराईले पेस गर्नुभएको राजनीतिक प्रतिवेदनलाई पाँच खण्डमा विभाजन गरिएको छ । प्रारम्भ, पार्टी निर्माणका ७ वर्ष एक सिंहावलोकन, संघ र प्रदेशको निर्वाचन २०७९ संक्षिप्त समीक्षा, समाजवादी ध्रुवीकरण आजको आवश्यकता र आगामी कार्ययोजना गरी पाँच खण्डमा विभाजन गरिएको हो ।
आगामी कार्ययोजना अन्तर्गत राजनीतिक काम, संगठनात्मक काम, प्रचारप्रसारको काम र आन्दोलन तथा अभियानको कामको योजना प्रतिवेदनमा उल्लेख भएको छ । सह-अध्यक्ष श्रेष्ठले बैठक सोमबारसम्म चल्ने जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्