
काठमाडौं । बैंक तथा वित्तिय संस्था परिसंघ नेपालका अध्यक्ष पवन गोल्यानले ऋणीलाई चर्को ब्याजदर लगाएर बैंकले अत्याधिक नाफा कमाए भन्नु भ्रम मात्रै भएको बताउनुभएको छ ।
आइतबार बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको तेस्रो साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष गोल्यानले बैंक तथा वित्तीय संस्थाले समाजको उन्नति र देशको आर्थिक विकासमा योगदान गर्दै आएको भएपनि बैंकहरुले ऋणीलाई चर्को ब्याजदर लगाएर बैंकले अत्याधिक नाफा मात्रै कमाए भनेर भन्नु भ्रम मात्रै भएको बताउनुभएको हो ।
उहाँले बैंकहरुले देशको विकास र समृद्धिका लागि गरेको ठूलो योगदानलाई भुलेर छरिएको भ्रममा ऋणी र सर्वसाधारण परेको बताउनुभयो । उहाँले बैंकहरुले देशको विकास र समृद्धिका लागि गरेको ठूलो योगदानको कतैबाट पनि उचित मूल्यांकन हुन नसकेको गुनासो गर्नुभयो ।
अध्यक्ष गोल्यानले बैंकहरुले अधिकांश सेवा सुविधालाई निःशुल्क प्रदान गर्ने नियमनकारी निकायहरुको निर्देशन रहँदै आएको बताउनुभयो । उहाँले बैंकहरुलाई नियमनकारी निकायको निर्देशन कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर घटाउँदै ४ प्रतिशत सम्ममा झार्ने निर्देशन भएको बताउनुभयो । उहाँल कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर घटाउँदा बैंक तथा वित्तीय संस्थाको प्रतिफलदर घट्दै गइरहेको उल्लेख गर्नुभयो ।
अध्यक्ष गोल्यानले कोभिड–१९ बाट प्रभावित व्यवसायीलाई बैंकहरूले १० अर्ब २१ करोड ब्याज छुट दिएको दाबी गर्नुभयो । उहाँले बैंकहरुको स्वपुँजी २०७९ कार्तिक मसान्त सम्ममा ७ खर्ब ५४ अर्ब रुपैयाँ पुगिसकेको बताउनुभयो । उहाँले बैंकहरु पारदर्शी भएर त्रैमासिकरुपमा वित्तीय विवरण प्रकाशित गर्ने भएकाले बैंकहरुलाई पुरस्कृत गरिनुपर्ने बताउनुभयो । उहाँले चुरोट, मदिरा व्यवसाय गर्ने फर्म, कम्पनीकै समूहमा राखेर अन्य फर्म कम्पनीलाई भन्दा ५ प्रतिशत बढी आयकर लिइने गरेको भन्दै गुनासो गर्नुभयो ।
अध्यक्ष गोल्यानले कर्जाको भारित औसत ब्याजदर २०७८ कात्तिकमा ९.०२ प्रतिशतबाट बढेर २०७९ कात्तिकमा १२.६५ प्रतिशत पुगेको बताउनुभयो । उहाँले ब्याजदर वृद्धिले वस्तु तथा सेवाको मूल्य बढाउनुको साथै उद्योग व्यवसायको निरन्तरतामा पनि चुनौति रहेको बताउनुभयो । उहाँले निस्क्रिय कर्जा बढेर पुँजीकोष अनुपातमा दवाव देखिने अवस्था आएको र असारमा १.३१ प्रतिशत रहेको निस्क्रिय कर्जा असोजमा बढेर १.९८ प्रतिशत पुगेको भन्दै पुसमा अझै माथि जाने अवस्था रहेको बताउनुभयो ।
उहाँले बैंकहरु पूँजीकोषको दबाब रहेको अवस्थामा उत्पादनमुलक उद्योग, पर्यटन, ऊर्जा, कृषि र पूर्वाधार विकासका क्षेत्रको कर्जाको जोखिम भार ५० प्रतिशत मात्रै कायम गर्नुपर्ने बताउनुभयो । उहाँले वित्तीय क्षेत्रमा देखिएको दबाबलाई व्यवस्थापन गर्न पुनर्कर्जालाई थप एकवर्ष निरन्तरता दिनुपर्ने बताउनुभयो । उहाँले २ वर्षका लागि कर्जा निक्षेप अनुपात (सीडी रेसियो) नभई कर्जा तथा स्वपुँजी र निक्षेप अनुपात (सीसीडी) लागू गर्नेसहित यसरी गणना गर्दा आउने स्रोतलाई उत्पादनमुलक, पर्यटन, ऊर्जा कृषि र पूर्वाधारमा लगानी गर्नुपर्ने व्यवस्था गर्न माग गर्नुभयो ।
उहाँले स्थानीय तहको सञ्चित कोषको शतप्रतिशत निक्षेपमा गणना गर्न पाउने व्यवस्था गर्नुपर्ने माग राख्नुभयो । उहाँले अर्थतन्त्र सुधारमा पुँजीगत खर्च बढाउने, राजश्वमा असर पर्न नदिन विलासिताका वस्तुमा भन्सार बढाउने, आत्मनिर्भर हुँदै गरेको नेपाली उत्पादनलाई प्रोत्साहन गर्न समानन्तर आयातका वस्तुहरूमा कर वृद्धि गरी आयात खुला गर्ने नीति लिनुपपर्ने सुझाव दिनुभयो ।
उहाँले उद्योगको प्रतिष्पर्धी क्षमता बढाउन उत्पादनमुलक, पर्यटन, उर्जा, कृषि र पूर्वाधार विकासको क्षेत्रमा ४ प्रतिशत ब्याजदर कम गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले ऊर्जामा विद्युत खरिद सम्झौता (पीपीए) खोल्ने र प्राइभेट कम्पनीबाट पावर ट्रेडिङ गर्ने व्यवस्था गर्नुपर्ने पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्