२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


संघीय संसदको पहिलो अधिवेशनको तयारी पूरा, सांसदको विद्युतिय हाजिर हुने


169
Shares

काठमाडौं । सोमबार दिउँसो १ बजेका लागि बोलाइएको संघीय संसदको पहिलो अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ ।

संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले संघीय संसदको पहिलो अधिवेशनको सबै तयारी पूरा भएको जानकारी दिनुभयो ।

अधिवेशनका लागि आवश्यक प्रशासनिक, व्यवस्थापकीय र प्राधिविक काम भएको उहाँको भनाई छ । संघीय संसद अन्र्तगतको प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक सोमबार एकै साथ बस्दैछ । प्रतिनिधिसभा बैठकका लागि सर्वदलीय बैठक र राष्ट्रियसभा बैठकका लागि कार्य व्यवस्था परामर्श समितिको बैठक बसेर पहिलो अधिवेशनका लागि आवश्यक निर्णय गरिएको र सोही बैठकको निर्णय अनुसार संघीय संसद सचिवालयले आवश्यक व्यवस्था मिलाएको सहायक प्रवक्ता धमलाले बताउनुभयो ।

संघीय संसद सचिवालयले सत्तापक्ष र प्रतिपक्ष दलका सांसदलाई दलीय प्रतिनिधित्वको आधारमा बस्न मिल्ने गरी सिटको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । तर स्थान अभावका कारण सबै दलका संसदीय दलका नेतालाई पहिलो लहरमा राख्ने गरी सिटको व्यवस्था भने गर्न नसकिएको उहाँको भनाइ छ । अधिवेशनमा सबै दलका संसदीय दलका नेताले बोल्ने कार्यसूचि तय गरिएको छ । संघीय संसदमा सांसदहरुले भोलि देखि नै ई हाजिरी गर्ने व्यवस्था मिलाइएको छ ।