
काठमाडौं । साविक विजेता त्रिभुवन आर्मी क्लबले सातौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ विजयी सुरुवात गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आइतबार भएको उदघाटन खेलमा दावाली मिलन क्लबलाई ३-० को सोझो सेटमा हराउँदै आर्मीले विजयी सुरूवात गरेको हो । उपाधि रक्षाको योजनामा रहेको आर्मीले दावालीलाई २५-२०,२५-२१ र २५-२१ ले पराजित गर्यो । यो जितसँगै आर्मीले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । दावालीले भने हारबाट प्रतियोगिताको सुरूवात गरेको छ ।
च्याम्पियनसिप अन्तर्गत नै आइतबार नेपाल पुलिस क्लबले न्युटन भलिबल एकेडेमीलाई ३-० को सोझो सेटमा हराउँदै सुखद सुरुवात गरिसकेको छ । पुलिसले न्युटनमाथि २५-१६,२५-१७ र २५-१६ ले हराएको हो ।
यस जितसँगै समूह ‘सी’ को पुलिसले पहिलो खेलमा ३ अंक जोडेको छ । न्युटनले भने हारबाट प्रतियोगिताको सुरूवात गरेको छ ।
च्याम्पियनसिपकै महिलातर्फ दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले जित निकालेका छन् । आर्मीले कृष्ण माध्यमिक एकेडेमीलाई ३-० को सोझो सेटमा हराउँदै सुखद सुरूवात गरेको हो । पुलिसले नयाँबजार सामाजिक युवा क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै सुखद् सुरूवात गरेको हो । च्याम्पियनसिपमा पुरुषतर्फ १४ र महिलातर्फ ८ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।
च्याम्पियनसिपको महिला र पुरुष विजेताले नगद ४ लाख पाउने छन् । यस्तै, उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख पाउने छन् ।
प्रतिक्रिया दिनुहोस्