२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


पाल्पामा ढाका बुन्ने पेशाप्रति महिलाको आकर्षण बढ्दै


234
Shares

पाल्पा । कपडा र बुट्टामा आफ्नो छुट्टै पहिचान स्थापित गरेको पाल्पाली ढाका उद्योग कामदार र दक्ष जनशक्तिको अभावमा संकटमा परिसकेको थियो ।

तर लुम्बिनी प्रदेश सरकारले ढाका बुन्ने पेशामा तालिमसहित प्रोत्साहनको कार्यक्रम ल्याएपछि यसप्रति महिलाको आकर्षण बढेको हाे । ढाका बुनेरै उनीहरु अहिले आत्मनिर्भर समेत बन्न थालेका छन् ।

पाल्पाली ढाकाको जननी मानिनु हुने ८४ वर्षीया पूर्णमाया महर्जनका श्रीमान स्वर्गीय गणेशमानले २०१५ सालमा पाल्पाली ढाका भित्र्याउनु भएको थियो । लामो इतिहास बोकेको पाल्पाली ढाकाको संरक्षण र बजार प्रवर्द्धनको अभावमा लोप नै हुने अवस्थामा पुग्दा सरोकारवाला निकाय चिन्तित भएका थिए । तर अहिले लुम्बिनी प्रदेश सरकारले ढाका बुन्ने इच्छुकलाई तालिमसहित प्रोत्साहन गरेपछि जिल्लामा ९८ जनाले ढाका बुन्ने सिप सिकेका छन् ।

तिमध्ये ६ जनाले आफैं उद्योग सञ्चालन गरेका छन् भने ३० भन्दा बढी महिला दिदी-बहिनी ढाका बुन्ने पेशाप्रति आकर्षित भएका छन् । रोजगारीको अभाव झेलिरहेका महिला दिदी-बहिनीले अहिले साँझ र बिहान घरको कामसकेर दिउँसोकोे समयमा ढाका बुनेरै परिवारको जीविका चलाउने गरेकोे तानसेन नगरपालिका–४ बारुदखानकी कमला दर्लामी बताउनुहुन्छ ।

कमलाले जस्तै पूर्वीपाल्पाको रामपुर नगरपालिका–१० गेझा बर्दलेकी बुद्धिमाया सारु सदरमुकाम तानसेन आएर बस्न थालेको करिब ३ वर्ष भयो । बुद्धिमायाले तालिम लिइ अहिले ढाका बुनेर मासिक १५ देखि २० हजार आम्दानी गर्ने गरेको बताउनुभयो ।

ब्राण्डिङ र लेबलिङ गरेर गुणस्तरीय पाल्पाली ढाकाको उत्पादन सुरु भएसँगै जिल्लामा करिब २ सयदेखि २ सय ५० जनाले प्रत्यक्ष रोजगारी पाएको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो ।

ढाकाको विकास र प्रवर्द्धनमा सरकारी तवरबाट भएका प्रयासले ढाका उद्योगमा लगानीकर्ताको आकर्षण बढ्दा एकातर्फ रोजगारी सिर्जना भएको छ । अर्कोतर्फ पाल्पाली ढाका विदेश निर्यात हुन थालेसँगै विदेशी मुद्राको आर्जनमा समेत टेवा पुगेको छ ।