
काठमाडौं । अमेरिकाको न्यूयोर्कका नेपाली रियल्टर नवराज केसीले ५ हजार अमेरिकी डलरसहितको स्पीरिट अवार्ड प्राप्त गर्नुभएको छ ।
न्यूयोर्कको लङ आइल्याण्ड बोर्ड अफ रियल्टर्सले एक समारोहकाबीच केसीलाई अवार्ड प्रदान गरेको हो ।
३१ हजार रियल्टरहरुलाई पछि पार्दे उहाँले यो अवार्ड प्राप्त गर्नुभएको हो । आफ्नो समुदायमा सकारात्मक प्रभाव पार्ने उल्लेखनीय सदस्यहरूलाई सम्मानित गर्न र मान्यता दिनका लागि यो अवार्ड प्रदान गरिन्छ । यो अवार्ड सन् २००६ देखि प्रदान गरिदै आएको छ । अवार्डमार्फत विजेताले सामुदायिक कारणका लागि ५ हजार डलरका साथमा बार्षिक समारोहमा उपस्थीत हुनका लागि दुई वटा टिकटसमेत प्राप्त गर्छन् ।
कलेज प्वाइन्ट सिभिक एण्ड ट्याक्सपेयर्स एसोसिएसनले उहाँको कामको उच्च मूल्याङ्कन गर्दे यो अवार्ड प्रदान गरेको हो । कलेज प्वाइन्टका विविध समुदायका बासिन्दाहरूको जीवनको गुणस्तर सुधार गर्न आफ्नो मिशनमा मद्दत गर्न केसीलाई २०२२ रियल्टर स्पिरिट अवार्ड पनि प्रदान गरिएको आयोजकको भनाई छ ।
यो अवार्डका लागि केसीले नोमिनेशन गर्नुभएको थियो । नोमिनेशनमा दर्ता भएका नामहरु मध्यबाट केसी सर्वोत्कृष्ट हुनु भएको थियो ।
केसी न्यूयोर्क सिटी काउन्सिलको चुनावमा उम्मेदवारी दिने पहिलो नेपाली अमेरिकन हुनुहुन्छ । न्यूयोर्क सिटी मेयर एरिक आडम्सको एसियन एड्भाइजरी काउन्सिलका सदस्य समेत हुनुहुन्छ ।
केसी सफल उद्यमी, व्यावसायिक रियाल्टर र सामुदायिक कार्यकर्ताको रुपमा सकृय हुनुहुन्छ । २०१९ देखि २०२० सम्म रोटरी क्लब अफ न्यूयोर्क, क्वीन्सका अध्यक्ष समेत रहनुभएका उहाँ कलेज प्वाइन्ट सिभिक एण्ड ट्याक्स पेयर एसोसिएसनका अध्यक्षका रूपमा कार्यरत हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्