
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले वर्तमान सरकारको स्थिरता चुनौतिको विषय भएको बताउनुभएको छ । सोमबार प्रतिनिधि सभा बैठकमा भागलिन नयाँ बानेश्वरस्थित संसद भवन पुग्नुभएका महामन्त्री थापाले सञ्चारकर्मीहरु सँग कुराकानी गर्दै सरकारको स्थिरता चुनौतिको विषय भएको बताउनुभएको हो ।
उहाँले अघिल्लो पटक वर्तमान सत्तारुढ गठबन्धनले गठबन्धन जोगाउन नसकेको भन्दै यसपटक पनि गठबन्धन टिक्नेमा आशंका व्यक्त गर्नुभयो । निर्वाचन अगाडी एउटा गठबन्धन र निर्वाचनपछि अर्को गठबन्धनको स्वरुप भएकाले पनि सरकारको स्थिरतामा चुनौति भएको उहाँको भनाई छ । महामन्त्री थापाले अहिलेको निर्वाचन प्रणालीलाई स्वीकार गरिसकेपछि सरकार बन्ने र बदलिने कुरालाई सामान्य रुपमा लिनुपर्ने पनि बताउनुभयो ।
महामन्त्री थापाले संसदको पहिलो बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहालको सम्बोधनले उहाँहरुका बिचमा बिग्रहको बिजारोपण भएको टिप्पणी गर्नुभयो । ओलीले अघिल्लो प्रतिनिधि सभा विघटनलाई प्रतिगामी भन्नेहरु नै प्रतिगामी हुन भनेको भन्दै सो कुरा नै विग्रहको कारण बन्नसक्ने उहाँले बताउनुभयो ।
महामन्त्री थापाले सरकारले सरकारको भूमिका र प्रतिपक्षले प्रतिपक्षको भूमिका इमान्दारीतापूर्वक निर्वाह गरेमा संसदमा कुनै पनि समस्या नआउने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्