७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


नयाँ सांसदप्रति जनताको धेरै अपेक्षा


13
Shares

काठमाडौं । सांसदहरूले शपथ लिएकै मितिबाट तलब भत्तालगायत सुविधा, सांसदको प्रतीक चिन्ह पाउँछन् । शपथ ग्रहणपछि नवगठित प्रतिनिधि सभाका सदस्यहरूको कार्यकाल विधिवत् आरम्भ भएको मानिन्छ । आर्थिक, राजनीतिक र सामाजिक विचलनबाट मुलुकलाई जोगाउने दायित्व जनप्रतिनिधिको हो । संसदलाई सत्ता र शक्तिको लुछाचुँडीबाट जोगाउने दायित्व शीर्ष नेताहरुको काँधमा छ । दुई चार नेताको गतिविधिबाट सार्वभौमसत्ता संसद बन्धक बनाउने परम्परा नदोहोरियोस भन्ने आमनागरिकको चाहना छ ।

चुनावमा अपेक्षाकृत मतदान कम भए पनि जनताले नयाँ संसदबाट देशले अग्रगति पाउने अपेक्षा राखेका छन् । अघिल्लो संसदले जनअपेक्षा पूरा गर्न नसकेकाले नयाँ संसदप्रति पनि सन्देह कायमै छ । यही संसदले प्रधानमन्त्री चुनिसकेको छ भने राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख निकटमै चयन गर्ने छ । यसैले सांसदहरूको भूमिका यसपटक निकै महत्वपूर्ण हुने निश्चित छ ।

जननिर्वाचित संविधान सभाले पारित गरेको नेपालको संविधान, २०७२ पछि निर्मित निर्वाचित संसद लगभग असफल रह्यो । धन्न, सर्वोच्च अदालतको निर्णयका कारण यसले दुई दुईपटक भंग गरिँदा पनि कार्यकालसम्म पूरा गर्न सक्यो । प्रमुख विपक्षी दलले लगभग विनाकारण लामो समयसम्म संसद चल्नै दिएन । कतिपय महत्वपूर्ण विधेयकहरू अनावश्यक समितिको छलफल लम्ब्याएर पारित हुन दिइएन । समग्रमा अघिल्लो संसद् सन्तोषजनक हुन सकेन ।

यद्यपि, दुई ठूला कम्युनिस्ट पार्टीको गठबन्धन अघिल्लो प्रतिनिधि सभामा प्रचण्ड बहुमत पाएको थियो । प्रमुख विपक्षी नेपाली कांग्रेस पनि अपेक्षाकृत शान्तमात्र होइन लगभग शिथिल देखिन्थ्यो । तै पनि विगत ५ वर्षमा सरकार र संसद्ले जनहितमा उल्लेख्य केही गर्न सकेन ।

यसअघि सांसदहरूको भूमिका निकै कमजोर र अनुत्तरदायी रह्यो । विशेषगरी कोभिड १९ को महामारीमा देखिएको सरकारको अकर्मण्यको मात्र होइन, भ्रष्टाचारका विरुद्धसमेत सांसदले प्रभावकारी आवाज उठाएनन् । ठूला दलका नेताले सांसदहरूलाई भूमिकाहीन बनाए । अधिकांश निर्णय संसदबाहिरै भए । सांसदहरू औपचारिकता पूरा गर्ने रबरछाप बनाइए । अब यस्तो नहोस् भन्ने अपेक्षा गरे पनि तिनै नेता र दलहरू निर्णायक भूमिकामा भएकाले आशा गर्ने ठाउँ झिनो छ ।

यसपटक संसदको संरचनामा केही परिवर्तन भएको छ । केही नयाँ राजनीतिक दल र युवा सांसद प्रतिनिधि सभामा प्रवेश गरेका छन् । मतदाताले निकै उत्साहका साथ तिनलाई निर्वाचित गराएकाले अपेक्षा पनि धेरै राखेको देखिन्छ । जनअपेक्षा पूरा गर्न नसके नयाँ पुराना सबै दलका सांसदले सजाय दिने छन् । कतिपयको त राजनीतिक जीवन राम्ररी सुरु नहुँदै समाप्त हुन सक्छ । यसैले नवनिर्वाचित सांसदहरू असफलसिद्ध नेताको आदेशमा नतमस्तक हुनुभन्दा अन्तरात्माको आवाज सुन्ने तत्परता देखाउन जरुरी छ ।