७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


संखुवासभामा हेलिकाेप्टर प्रहरीकाे नियन्त्रणमा


858
Shares

संखुवासभा । संखुवासभाको भोटखोला गाँउपालिकाको हटियामा अनुमति बिना हेलिकाेप्टर उडान भरेको भन्दै प्रहरीले अल्टिच्यूड एयरको हेलिकाेप्टर नियन्त्रणमा लिएको छ ।

गृह मन्त्रालयले दिएको उडान अनुमति विपरित निषेधित क्षेत्रमा उडान भरेको भन्दै प्रहरीले अल्टिच्यूड एयरको ९ एन एएमएक्स कल साईनको हेलिकाेप्टर नियन्त्रणमा लिएको हो । मंगलबार बिहान काठमाडाैंबाट संखुवासभाको भोटखोला गाँउपालिकामा रहेको टेलिकमको टावर सञ्चालनका लागि उक्त जेनेरेटर ल्याइएको हाे । प्रहरीले गृह मन्त्रालयको अनुमतिमा काठमाडाैंबाट निषेधित क्षेत्रमा जानु भन्दा पहिले जिल्ला प्रहरी कार्यालय खाँदबारीमा अवतरण गरी जाँच पासपछि मात्रै भोटखोलाको हटियामा उडान भर्ने अनुमति रहेको थियो ।

अनुमति विपरित उडान भरेको भन्दै प्रहरीले हेलिकाेप्टरका पाइलट आनन्द थापालाई नियन्त्रणमा लिई प्रहरी चौकी हटियामा राखेकोे साेही गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले बताउनुभयो । उहाँले हेलिकाेप्टर गाँउपालिकाकै पहलमा भोटखोलाकै माक्पालुङमा रहेको टेलिकम टावर सञ्चालनका लागि जेनेरेटर ल्याएको र गोला प्रहरी चौकी, जनप्रतिनिधि र टेलिकमका कर्मचारी लगायतको रोहबरमा हेलिकाेप्टरबाट जेनेरेटर हटियामा निकालिएको बताउनुभयो ।

अध्यक्ष भोटेले भोटखोलावासी सञ्चारको क्षेत्रबाट वञ्चित भएकाे र सोलरबाट टेलिकमको टावर सञ्चालनमा सधै अवरोध भएपछि गाउँपालिकाकै पहलमा जेनेरेटर ल्याउदा प्रहरीले हेलिकाेप्टर र पाइलट नियन्त्रण गर्नु दु:खत भएको र भोटखोलालाई हेर्ने दृष्ट्रिकोण फरक रहेको समेत आरोप लगाउनुभयो । यता प्रहरीले घटनाको बारेमा गृह मन्त्रालयलाई पत्र लेखि पठाएको र गृहकै निर्देशन अनुसार प्रकृया अगाडि बढाउने जनाएकाे छ ।