
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुनः प्रतिनिधि सभाको विघटन गर्न सक्ने अभिव्यक्तिको दिएकोप्रति कांग्रेसको ध्यानाकर्षण भएको बताउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने घोषणा गर्दै पूर्ण कार्यकाल सरकार चलाउन सबै मिलेर काम गर्न दिनुपर्ने बताउनुभयो । उहाँले देशमा विद्यमान चुनौतिहरुलाई सरकारले कसरी हेर्छ, विद्यमान समस्याहरु समाधान हुन्छ ? संविधानको रक्षा तथा कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्रको दिगो शान्ति र सुशासन विकास र समृद्धिको सवालमा सरकारको कामकारबाही कस्तो रहन्छ भन्नेकुरालाई मध्यनजर गरेर आगामी दिनमा समर्थन गर्ने वा नगर्ने भन्नेकुरा निर्धाराण गर्नेपनि बताउनुभयो ।
उहाँले संविधानको पालना र रक्षाका लागि वर्तमान प्रधानमन्त्री र कांग्रेस एक ठाउँमा उभिएको स्मरण गर्दै फेरि वर्तमान सत्ता गठबन्धनका प्रमुख घटकहरु तिनै संवैधानिक व्यवस्थालाई चुनौति दिएको परिप्रेक्ष्यमा संविधान र रक्षाका लागि खरो रुपमा उभिने चुनौति आफूसमक्ष रहेको बताउनुभयो ।
सभापति देउवाले सरकारको गठन गर्नु वा सरकार परिवर्तन गर्नु संसदको एक महत्वपूर्ण काम भएको बताउनुभयो । उहाँले देश र जनताका लागि सबै नीति र कानूनको निर्माण पनि संसदको क्षेत्राधिकार भएको भन्दै संसदमा प्रभावकारी प्रतिपक्षको अभावमा सरकार माथिको निगरानी र अनुगमनको पद्धति कमजोर हुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्