
कैलाली । सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल मुख्यमन्त्री बन्ने निश्चित भएको छ।
नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकार गठनका लागि सत्ता गठबन्धनलाई सर्मथन गर्ने निर्णय गरेसँगै एमालेका रावल मुख्यमन्त्री बन्ने निश्चित भएको हाे । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठका स्वकीय सचिव जीबस यादवले सत्ता गठबन्धनलाई प्रदेश सरकारमा समर्थन गर्ने निर्णय गरेको बताउनुभयो । उहाँले नागरिक उन्मुक्ति पार्टी सरकारमा भने नजाने जानकारी दिनुभयो ।
सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि निर्णायक बनेकाे नागरिक उन्मुक्ति पार्टीसँग ७ जना सांसद रहेका छन् । सत्ता साझेदार दलहरूबीच एमालेलाई सुदूरपश्चिममा सरकारको नेतृत्व दिने सहमति भएको थियो । एमालेले संसदीय दलका नेता राजेन्द्र रावल मुख्यमन्त्रीका रूपमा अघि सारेको छ।
सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले दुई वा दुई भन्दा बढी दलको समर्थन प्राप्त प्रदेशसभा सदस्यलाई २७ गते साँझ ५ बजेभित्र मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गर्नुभएको छ। सरकार गठनका लागि बहुमतसहित प्रदेश प्रमुखको कार्यालयमा दावी पेश गर्ने समयसीमा आज बुधबार साँझ ५ बजे सकिंदैछ।
सोही समय भन्दा पहिले नै सरकार गठनका लागि बहुमतसहित दावी पेश गर्ने एमालेका संसदीय दलका नेता रावलले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्