
काठमाडौं । पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन गर्न पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्ने सर्त राखेको पूर्व पञ्चहरुको दल राष्ट्रिय प्रजातन्त्र पार्टीले यही दिनको साईत पारेर वर्षेनी चियापान कार्यक्रम गर्दै आएको छ । रमाइलो त के छ भने आफूबाट अलग्गिएको कमल थापा अध्यक्ष रहेको राप्रपाले समेत अलग्गै चियापान गरेको छ । मूलपार्टीले भृकुटीमण्डपमा गरेको चियापानलाई उत्सवमय बनाउन ठूलै गृहकार्य गरेको प्रष्ट देखिन्थ्यो ।
राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती र राष्ट्रिय एकता दिवस मनाउन भेला भएकाहरुले उहाँका दिव्योपदेशलाई भजनमा अनुवाद गरेर माहोललाई रोचक बनाएका थिए । सरकारले पृथ्वी जयन्तीलाई मान्यता दिएसँगै उत्साही देखिएको राष्ट्रिय प्रजातन्त्र पार्टीले गरेको जलपानमा सबै तह र तप्काका मानिसको बाक्लो उपस्थिति थियो । कतै भजन, कतै झाँकी त कतै कविताको रसपानबाट पृथ्वीनारायणलाई सम्झिने प्रतिस्पर्धा थियो ।
देशको वर्तमान राजनीतिक अवस्थामा पृथ्वीनारायण शाहको बहुआयामिक दर्शनको सान्दर्भिकता बढेको ती पार्टीका नेताहरुको ठम्याई छ । नेपाली भन्ने परिचय पृथ्वीनारायण शाहले दिएको राप्रपाका वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले बताउनुभयो ।
जलपानमा सहभागी कार्यकर्ताहरु नेतालाई शुभकामना दिन व्यस्त थिए । उनीहरु राष्ट्रियतालाई जोड्ने कडीका रुपमा पृथ्वीनारायण शाहलाई व्याख्या गर्दछन् ।
सीमाविद् बुद्धिनारायण श्रेष्ठ पृथ्वीनारायण शाहले उ बेला भनेको भनाई आजसम्म सान्दर्भिक रहेको बताउनुहुन्छ ।
यस दिवसलाई राष्ट्रिय मान्यता दिलाउन अनवरत लागेका अभियन्ता भरत बस्नेत सरकारले आवाज सुनेकोमा दंगदास हुनुभएको छ ।
कुनै राजनीतिक पार्टीको पात्रो रंगाउने भन्दा पनि पृथ्वीनारायण शाहका दिव्योपदेशलाई सत्तामा गएकाहरुले इमान्दारपूर्वक व्यवहारमा उतारिदिने हो भने यो दिवसको सान्दर्भिकता थप प्रभावकारी हुने थियो ।
प्रतिक्रिया दिनुहोस्