
काठमाडौं । हाम्रा पुर्खाले जीवनको अन्तिम क्षणका लागि भनेर धार्मिक घाट निर्माणसँगै संरक्षण गरेका थिए । नदीको तटीय संरक्षण र बाढी नियन्त्रणका लागि बनाइएका अधिकांश ऐतिहासिक घाट दुरावस्थामा पुगेको छ ।
नश्वर जीवनको अन्तिम सत्य मृत्यु । मृत्युपछिको दुई गज जमिनमा परिवार र समाजले सम्मान पूर्व अन्तिम संस्कार र काजक्रिया गर्ने स्थान घाट हो ।
धार्मिक दृष्टिले बनाइएका ऐतिहासिक घाट संरक्षणको अभावमा अधिकांश घाट अस्तित्वविहीन बन्दै गइरहेका छन् । यसैमध्ये बागमती नदी किनारमा रहेका ललितपुर र काठमाडौंका टेकु दोभान क्षेत्रका घाट चुनौति झेलिरहेका छन् ।
बैकल्पिक कोरिडोर बाटो निर्माणसँगै यी सम्पदा अस्तित्वको लडाईमा छन् । चिन्तामणि घाट, वंशीघाट र राजतीर्थ क्षेत्रमा रहेका घाटहरु असुरक्षित बनेका छन् । वंशीघाट त झन सुकुम्वासी बस्तीका कारण असुरक्षित बनेको छ । यो घाट त पन्छी तथा पशुपालनको खेलखोर बन्दै आएको छ ।
धार्मिक घाट कतै खण्डहरमा परिणत बन्दै छन त कतै अतिक्रमणको शिकार । कुनै बेला छाला र विभिन्न पेटको उपचारका लागि समेत प्रख्यात राजर्तीर्थमा औषधिजन्य पानी सुकेको अवस्था छ । स्थानीय यस्ता पवित्र तीर्थ र घाटजस्ता सम्पदा संकटापन्न अवस्थामा पुग्नुमा अव्यवस्थित शहरीकरण रहेको बताउँछन् । घाटजस्तो ठाउँ त संरक्षण हुन सक्दैन भने आधुनिक विकासबाट के आशा गर्ने गीता श्रेष्ठ बताउनुहुन्छ ।
त्यसो त काठमाडौं उपत्यकाको गहना भनेकै धार्मिक, सामाजिक र सांस्कृतिक सम्पदा हो । वास्तविक विकास भनेको बहुमूल्य जनताको नासोका रुपमा रहेका सम्पदाको संरक्षण पनि हो । तसर्थ साँस्कृतिक शहरलाई अनियन्त्रित र अव्यवस्थित अतिक्रमणबाट बचाउनु सबैको समान दायित्व हो ।
प्रतिक्रिया दिनुहोस्